सर्लाही । नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना भइसक्दासमेत सर्लाहीमा अधिकांश विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् । विद्यार्थीहरू पाठ्यपुस्तक बिनै अध्ययन गरिरहेका छन् । कतिपय विद्यार्थीले पुरानो पुस्तक जुटाएर पढिरहेका छन् ।
पहिलो त्रैमासिक परीक्षा सञ्चालन भइहेको छ । तर, अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक पुगेको छैन ।
जिल्लाका शिक्षक भने पाठ्यपुस्तक नै देख्न नपाई विद्यार्थीसँग कसरी परीक्षा लिने ? भन्दै प्रश्न गर्छन् । कतिपय सामुदायक विद्यालय निजी विद्यालयले प्रयोग गर्ने पाठ्यपुस्तकको प्रयोग गरेर विद्यार्थीहरूलाई पढाइ रहेका छन् भने निजी विद्यालयमा समेत पूरै पाठ्यपुस्तक विद्यालयसम्म आइनपुगेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालका वरिष्ठ जिल्ला उपाध्यक्ष पूर्ण बम्जनले जानकारी दिनुभयो ।
यस वर्ष धेरै विद्यालयले पुरानै प्रकाशकको किताब प्रयोग गरेको र कतिपय अवस्थामा विद्यार्थी विद्यार्थी बीचमा समन्वय गरेर समेत पढाइरहेको उहाँले बताउनुभयो । यस वर्ष जनक शिक्षा सामग्रीले बेलैमा पर्याप्त पाठ्यपुस्तक छाप्न नसक्दा सर्लाहीसहित देशैभर पाठ्यपुस्तकको अभाव भएको हो ।
हाल सर्लाहीमा आधारभुत तहका धेरै विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक पुगेको छैन । अझै पनि करिब ३० प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जनाएको छ । किताब पाएका विद्यार्थीसँग पनि सम्पूर्ण सेट किताब छैन ।