लालबन्दी । सर्लाहीको सबैभन्दा ठूलो तरकारी बजार लालबन्दीबाट एक महिनामा २० करोड २३ लाखभन्दा बढीको तरकारी निकासी भएको छ।
कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीकाे तथ्यांक अनुसार असार महिनामा लालबन्दी बजारबाट २० करोड २३ लाख १७ हजार ५ सय रुपैयाँको अन्य तरकारी निकासी भएको हो।
असार महिनामा लालबन्दीबाट सबैभन्दा धेरै हरियो बोडी मात्रै ६ करोड ५३ लाख ७५० रुपैयाँको निकासी भएको छ। बोडीपछि परबल ४ करोड ६९ लाख ४८ हजार ७५० रुपैयाँको निकासी भएको बजार व्यवस्थापन समितिले जनाएको छ।
अहिले मुख्यगरी बोडी र परबलकै सिजन हो।
त्यस्तै, १ करोड ६२ लाख ५३ हजार ७५० रुपैयाँको लौका, १ करोड २ लाख ७९ हजारको हरियो खुर्सानी, ७० लाख ९४ हजार २५० रुपैयाँको गोलभेँडा, ३६ लाख ३२ हजार ७५० रुपैयाँको घिरौँलासहित अन्य तरकारी निकासी भएको छ।
विशेषगरी किसानले लालबन्दी बजारमा ल्याएर बेच्ने तरकारी काठमाण्डौं, पोखरा, नारायणघाट, हेटौँडा, वीरगन्ज, जनकपुर, सिन्धुली, कटारीलगायतका ठाउँहरुमा निकासी हुने गरेको छ।