पार्टी बिरुद्ध अन्तरघात गर्नेलाई निष्काशन गर्ने अधिकार जिल्ला पार्टी प्रमुखलाई

हरिवन । सर्लाहीको हरिवनमा नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको आयोजना तथा जिल्ला सभापति सुरेन्द्र सिंहको अध्यक्षतामा अगुवा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम गरिएको पार्टीले जनाएको छ ।

हरिवन स्थित सगुन सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवं पुर्व गृहमन्त्री पुर्ण बहादुर खडकाले निर्वाचनको समयमा पार्टीसँग अन्तरघात गर्ने व्यक्तिलाई पार्टीबाट निष्काशन गर्न सक्ने अधिकार पार्टीको जिल्ला कार्यसमितीलाई रहेको बताउनुभएको छ ।

उहाँले कांग्रेसको १४ औं महाधिवेशन पछि बनेको पार्टीको विधान अनुसार अनुशासन कमिटी गठन गरेर कार्यवाही गर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिएको बताउँदै त्यस्ता अन्तरघातीलाई जिल्ला कार्यसमितिको प्रमुखले पार्टीबाट निलम्बन गर्न सक्ने बताउनुभयो । उहाँले काँग्रेसलाई सबल, सक्षम र गतिशील बनाउन सबै तहका समितिहरू सक्रिय हुनुपर्ने समेत बताउनुभयो ।

उपसभापति खडकाले जसरी स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले सफलता पायो, त्यसरी नै संघीय र प्रदेशको निर्वाचनमा पार्टीलाई जिताएर कांग्रेसलाई पहिलो पार्टी बनाउनु सबैको मुख्य ध्येय रहेको बताउनुभयो ।

कर्यक्रममा पार्टीका जिल्ला सभापति सिंह र उपसभापति डा.सरोज यादवले जिल्ला कार्यसमितिको तर्फबाट प्रमुख अतिथि पार्टीका केन्द्रीय सभापति एवं पुर्व गृहमन्त्री खडकालाई उपहार स्वरूप समायाको चिनो प्रदान गरि सम्मानित गरेका थिए ।