रियल मड्रिडको पुनरागमन जित

३० साउन, काठमाडौं । ला लिगाको साविक विजेता रियल मड्रिडले नयाँ सिजनको पहिलो खेलमा अल्मेरियालाई २-१ ले पराजित गर्दै उपाधि रक्षा अभियान सुरु गरेको छ । अल्मेरियाको मैदानमा रियलले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै ३ अंक जोडेको हो ।

खेलको छैटौं मिनेटमै लार्जी रामाजानीले गोल गर्दै अल्मेरियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अल्मेरियाको अग्रता कायम रहे पनि दोस्रो हाफमा रियल खेलमा फर्कियो ।लुकास भाज्क्वेजले ६१ औं मिनेटमा रियलका लागि बराबरी गोल फर्काए । त्यसपछि डेभिड अलावाले ७५औं मिनेटमा फ्रि-किकमार्फत विजयी गोल गरे ।

बुधबार भएको युइएफए सुपर कपमा इङट्राट फ्रांकफर्टलाई हराएर उपाधि जितेको रियल उच्च मनोबलका साथ मैदानमा उत्रेपनि पहिलो खेलमै संघर्ष गर्नुपरेको थियो ।