केपी ओलीले फेरि युद्ध होस् भन्ने चाहेका छन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया नटुंगियोस् भन्ने चाहेको आरोप लगाएका छन् ।

राजधानीमा आयोजित माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समिति बैठकमा उनले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै शान्ति सम्झौता गर्दा त्यसको साक्षी बसेको तर अहिले शान्ति सम्झौतालाई निष्कर्षमा पुग्न नदिने गरी तर्क गरेको समेत आरोप लगाए।

‘आफैंले १२ बुँदेमा हस्ताक्षर गर्ने, आफैं विस्तृत शान्ति सम्झौता गर्दा साक्षी बस्ने, अहिले शान्ति सम्झौतालाई अन्तिम निष्कर्षमा पुग्न नदिने भनेपछि यो प्रतिगामी पनि छ, बेइमानीपूर्ण पनि छ,’ प्रचण्डले प्रतिप्रश्न गरे, ‘षडयन्त्रकारी पनि छ ।

के फेरि युद्ध होस् भन्न चाहेको हो केपी र केपी गुटले ?’

एमालेले तत्कालीन विद्रोही माओवादीलाई पीडक र माओवादीबाट पीडितलाई मात्र पीडित मान्ने तर्क गरिरहेको प्रचण्डले बताए ।

‘उनीहरु के भन्छन् भने पीडितको भावना अनुसार यो भएन । पीडितलाई न्याय दिने खालको भएन यो भन्छन् । उनीहरु पीडित कसलाई भन्छन् भने, माओवादी पीडित होइनन् । राज्यपक्षबाट जो जो पीडित भएका छन्, ती चाहिँ पीडित होइनन् रे । माओवादी विद्रोहमा परेका मात्रै पीडित हुन भन्ने तर्क गरेका छन्’ उनले भने ।

शान्ति प्रक्रियालाई एक पक्षको हितमा मात्रै नपारेसम्म यसलाई टुंगिन नदिने गरी एमाले लागेको आरोप समेत प्रचण्डले लगाए ।

‘यसलाई उनीहरुले सम्पूर्ण रुपमा प्रतिक्रियावादीहरुको पक्षमा नढालेसम्म शान्ति प्रक्रियालाई टुंगिन नदिने अडान लिएका छन्’, प्रचण्डले भने, ‘उनीहरु चाहिँ एक पक्षको हितलाई मात्रै ध्यान दिएर पीडित र पीडकको परिभाषा गर्न खाजेका छन् ।