कविता : म बन्धनमै छु – परशुराम घिमिरे ‘निदान’

अरूको स्वतन्त्रता हनन गरेर

‘म’ हुन खोजिरहेँ
सबै गुमनाम बनाएर
म उम्कन खोजिरहेँ
र त म बन्धनमा छु ।

मैले मुक्तिको चाह राख्दै गर्दा
मुक्ति भावले नै जेलिरह्‌यो
म निरहंकार हुने सोच्दै गर्दा
शरीरको सम्बन्धले नै मलाई पोल्यो
त्यसैले त म बन्धनमा छु

सभाहरूमा ठुलै स्वरले चिच्याएँ –
‘म’ भन्‍ने चिजलाई चिन
र समेट
भित्र नियाल ।
विवेकले हेर – राम्रो नराम्रो
मलाई मेरै ‘म’ले साथ दिएन
त्यसैले
त म बन्धनमा छु ।

अरूलाई सुधार्न खोज्दा
आफू खुस्केको पत्तो हुने रहेनछ
सुधार्ने सोच्नु मेरो भ्रम रहेछ
बिग्रेको देख्ने नजरले नै धोका दिए
त्यसैले त म बन्धनमा छु ।