सर्लाहीबाट नेकपा एसका अधिकांश पदाधिकारी एमालेमा समाहित

सर्लाही । नेकपा (एकीकृत समाजवादी) सर्लाहीको जिल्ला नेतृत्वका अधिकांश पदाधिकारी एमालेमा समाहित भएका छन्।

आज शुक्रबार दिउँसो सदरमुकाम मलंगवास्थित एमाले पार्टी कार्यालयमा आयोजित एक समारोहमा समाजवादीका नेताहरू एमालेमा समाहित भएका हुन्।

समाजवादीका केन्द्रीय परिषद् सदस्य रूपनारायण सिंह, जिल्ला उपाध्यक्ष देवेन्द्र राय, सचिव गोविन्द अधिकारी, उपसचिव लीलादेवी कोइराला, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिका सदस्य समेत रहेका विश्व लामा, प्रचार विभाग प्रमुख तथा हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले, ईश्वरपुर नगर कमिटीका अध्यक्ष मेनकुमार गौतम, हरिपुर नगर कमिटी अध्यक्ष चूडामणि धामी लगायत एमालेमा समाहित भएका छन्।

उपाध्यक्ष राय र सचिव अधिकारीको संयुक्त हस्ताक्षरमा नेकपा एकीकृत समाजवादी सर्लाही जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको सम्बन्धमा प्रेस विज्ञप्ति समेत जारी गरेका छन्।

झूटफुटवाट देश, जनता र पार्टीलाई नोक्सान भएको महसुस गर्दै नेकपा एमाले केन्द्रीय, मधेश प्रदेश एवं सर्लाही जिल्ला कमिटीबाट नेकपा (एकीकृत समाजवादी) सहितलाई नेकपा एमालेमा जोडिन आह्वान गरेको र एकीकृत समाजवादी पार्टी तथा नेतृत्वले कम्युनिष्ट आन्दोलन, राष्ट्रियता एवं जनताको समृद्धिको चाहना पूरा गर्न नसक्ने नेकपा एकीकृत समाजवादी सर्लाही जिल्ला कमिटीका अत्यधिक संख्याको ठहर भएकाले निःशर्त नेकपा एमालेमा समाहित भएको विज्ञप्तिमा उल्लेख छ।