काठमाडौं | नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले जारी गरेको आचार संहिता तत्काल सच्याउन सुझाव दिएका छन्।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता गलत भएकोले सच्याउनुपर्ने बताए।
श्रेष्ठका अनुसार बहुदलीय राजनीतिक प्रणालीमा नेताहरू नै मन्त्री हुने हुनाले उनीहरूले निर्वाचनको प्रचारप्रसार गर्न मिल्दैन भन्न मिल्दैन।
‘यो आचारसंहिताको सवालमा मन्त्रीहरूले चुनाव प्रचारप्रसार गर्न राष्ट्रव्यापी नपाउने छ भन्ने सुनियो। यो कुरा मिल्दैन,’ श्रेष्ठले भने, ‘राजनीतिक प्रणाली चाहिँ बहुदलीय हुने अनि त्यो प्रणालीले नेताहरू मन्त्री पनि हुने। तर, मन्त्रीहरूले चाहिँ चुनाव प्रचारप्रसार गर्न आफैँ उम्मेदवार छ भने बाहेक अन्त नपाउने भन्ने कुरा त कमनसेन्सले मात्रै पनि मिल्दैन। यो उपयुक्त छैन।’
निर्वाचन आयोगले राज्यको स्रोत–साधनको दुरुपयोग हुन नदिन आचारसंहिता कडाइका साथ लागू गर्न उनले सुझाव दिए।
उनले निर्वाचनमा समानुपातिक सहभागिताको प्रश्नमा संविधान नै संशोधन गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताए।