अखिल क्रान्तिकारीको विद्रोही समूहले गर्‍यो काठमाडौं रेस

 काठमाडौँ | नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) पवन कार्की समूहले संविधान दिवसको अवसरमा ‘काठमाडौं रेस-२०७९’ को आयोजना गरेको छ।

आठौँ संविधान दिवसको अवसरमा ‘संविधान कार्यान्वयनमा माओवादी नेतृत्वका लागि हाम्रो समर्थन, शिक्षा, स्वास्थ्य, रोजगार ग्यारेन्टीका लागि मिनी म्याराथन’ भन्ने नाराका नेपाल एथलेटिक्स एसोसिएसन, सहिद स्मृति स्पोर्ट्स एकेडेमी, राष्ट्रिय खेलकुद परिषदको समन्वयमा अखिल (क्रान्तिकारी)ले कार्यकम आयोजना गरेको हो।

त्रिपुरेश्वरस्थित रंगशालादेखि सुरु भएको रेस थापाथली–माइतीघर–बबरमहल–बिजुली बजार पुल हुँदै एभरेस्ट होटल अगाडिको डिभाइडर पुगेर सोही बाटो फर्केर त्रिपुरेश्वर पुगेर सकिएको छ।  

सो रेसमा पुरुषतर्फ अजितकुमार यादव प्रथम भएका छन्। पिनाकल कलेजका यादवले १७ मिनेट ४५ दशमलव ३ सेकेन्डमा दूरी पार गरे। त्यस्तै, एनपिसीका सन्तोषविक्रम विष्ट (१७ मिनेट ४५ दशमलव ८ सेकेन्ड) र एनपिएफका मोहनदेव जोशी (१८ मिनेट ०६ दशमलव १ सेकेन्ड) तेस्रो भए।

महिलातर्फ एनपिएफ राजपुरा पछाई विजेता बनिन्।

उनले २० मिनेट ३५.७५ सेकेन्डमा निर्धारित दूरी पार गरिन्। त्यस्तै, एनपिएफकै राममाया बुढा (२० मिनेट ५०.१५ सेकेन्ड) दोस्रो भइन्। तेस्रो भएकी रेखा विष्ट २१ मिनेट ३.३५ सेकेन्डमा सो दूरी पार गरेकी थिइन्।