परवानीपुर । सर्लाहीको लालबन्दी नगरपालिकामा फुटवल प्रतियोगीता सुरु भएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १६ को आयोजना तथा स्थानिय मिरमिरे युवा क्लवको सह–आयोजनामा फुटवल प्रतियोगीता सुरु भएको हो ।
वडा नम्बर १६ को भोर्लेनीस्थित खेल मैदानमा लालबन्दी नगरपालिकाका १७ ओटै वडाको सहभागीतामा प्रतियोगीता सुरु भएको हो । प्रतियोगीताको एक कार्यक्रमका बिच बुधवार अपराह्न उद्घाटन गरिएको छ । लालबन्दी नगरपालिकाका प्रमुख बासु अधिकारीको प्रमुख आतिथ्यमा फुटवल प्रतियोगीताको उद्घाटन भएको हो ।
नेपालीहरुको महान चाड बडादशैँ, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा पाँचौ वडाध्यक्ष कप नकआउट फुटवल प्रतियोगीता आयोजना गरिएको वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापाले जानकारी दिनुभयो । १० दिन सम्म चल्ने प्रतियोगीताका बिजेताले नगद ७० हजार रुपैँया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने द्वितिय हुने टिमले नगद रु ३५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
प्रतियोगीता उद्घाटन कार्यक्रममा १६ नम्बरका वडाध्यक्ष थापाको सभापति तथा नगरप्रमुख अधिकारीको प्रमुख आतिथ्यतासँगै उपप्रमुख कल्पना पाख्रिन, १७ ओटै वडाका वडाध्यक्ष, जिल्ला फुटवल संघका अध्यक्ष ठाकुर बहादुर सुस्लिङ, उपाध्यक्ष बिभु थापा, पुर्व अध्यक्ष अर्जुन चौधरी, आईटिएफका केन्द्रिय सदस्य प्रभु नारायण शिवाकोटि (श्याम), नेकपा एकिकृत समाजवादीका नेता उद्धव पाठक, नेकपा एमालेका नेता भरत गौतम, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक सान्ताराम कार्कि, कांग्रेस नेत्री सानु पाख्रिन, डिम जन्ता माबिका प्रधानाध्यापक ध्रुव भण्डारी, बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राजु बुढाथोकीसहित वडा नम्बर १५ र १६ का वडा सदस्यहरु र संचारकर्मिहरुको उपस्थिती रहेको थियो ।
पहिलो उद्घाटन खेलमा वडा नम्बर ११ र १६ बिच प्रतिस्पर्धा भएको थियो । पहिलो खेलमा १ का बिरुद्ध ३ गोल गर्दै वडा नम्बर १६ ले जित हात पारेको छ । बिहिवार वडा नम्बर २ र १७ बिच प्रतिस्पर्धा हुने सह–आयोजक मिरमिरे युवा क्लवका सोनाम तामाङले जानकारी दिनुभयो ।