राष्ट्रपतिविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं | राष्ट्रपति विद्यादेवी भण्डारीविरूझ सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदै छ ।

राष्ट्रपति भणडारीले दोस्रोपटक संसद्को दुवै सदनबाट बहुमतले पास भएको नेपाल नागरिकता ऐन, २०६३ को संसोधन गर्न ल्याएको विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति भण्डारी र राष्ट्रपतिको कार्यालय, शीतलनिवासविरुद्ध कानुन व्यवसायीहरु बुधबार रिट निवेदन दिएकोमा बिहीबार दर्ता भएको थियो । राष्ट्रपतिविरुद्ध पाँचवटा रिट परेको छ । सो रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको वरखिलाफ भएको उल्लेख गरिएको छ ।

साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ । अधिवक्ता सागर बराल तथा सौगातराज बराल, अविनेश अधिकारी र सम्पूर्ण बस्नेतले राष्ट्रपति भण्डारीविरुद्ध बुधबार नै रिट दर्ता गराएका हुन् । सर्वोच्च प्रशासनले सो रिटमा छानबिन गरेर मात्र दर्ता गर्नुपर्ने भन्दै बिहीबार मात्र दर्ता गरिदिएको हो । उक्त रिटसँगै अन्य कानुन व्यवसायीहरुले पनि थप चारवटा रिट दर्ता गराएका छन् ।