काठमाण्डौ | नेपाल समाजवादी पार्टी नेसपा का अध्यक्ष डा. बाबुराम भट्टराईले ज्ञानको निर्माण एकाङ्की हुन नहुने बताउँदै सरोकारवालासँगको छलफल र सुझावका आधार तयार गरिने ज्ञानले मात्र नागरिकका समस्या समाधान गर्नसक्ने उल्लेख गर्नुभएको छ ।
नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरमा आइतवार आयोजित समारोहमा उहाँले सूचना सङ्कलनले मात्र ज्ञान निर्माण नहुने भएकाले सिद्धान्तका विषयलाई व्यवहारमा समेत जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
देशको द्रुततर विकास र समृद्धिका लागि थिङ्क ट्याङ्क संस्थाको आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, ‘केही दशकयता हामीले आर्थिक, सामाजिक, राजनीतिकलगायत क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरे पनि छिमेकी देश र विश्वको तुलनामा अझै धेरै काम गर्नुछ । गरिबी, बेरोजगारी, अशिक्षा र असमानता अन्त्य गर्न थुप्रै काम गर्न बाँकी छ, तसर्थ नवप्रवर्तनका लागि थिङ्क ट्याङ्कको आवश्यकता टड्कारो छ ।’
थिङ्क ट्याङ्क संस्थाले ज्ञान निर्माण गर्दा अनावश्यकरूपमा कसैको पनि पक्षपोषण गर्न नहुनेमा जोड दिँदै अध्यक्ष भट्टराईले तथ्य र ज्ञानका आधारमा सत्तासीन व्यक्तिलाई जनउत्तरदायी बनाउनुपर्ने बताउनुभयो । नेपालजस्तो विविधतायुक्त देशमा अनुसन्धान गर्दा वा ज्ञान निर्माण गर्दा समावेशीतालाई अनिवार्य आत्मसात् गर्नुपर्ने उहाँको भनाइ थियो ।