काठमाडौ । मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातको आधारमा मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा लालपुर्जा वा कुनै पनि सरकारी कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा समेत मतदान गर्न पाउने जनाइएको छ । आगामी मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।
कतिपयको मतदाता परिचय पत्र हराएको अथवा नभएको अवस्थामा उनिहरुको मताधिकार प्रयोग गर्न दिन आयोगले यस्तो व्यवस्था गरेको हो । त्यसरी मतदान गर्नको लागि मतदाता नामावलीमा नाम भने हुनुपर्नेछ ।