
मलंगवा l सर्लाही प्रहरीले ९ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला सोनवर्षा थाना ग्राम पञ्चायत बिसनपुर आधार वार्ड न-६ संग्रामपुर बस्ने जाकिर हुसेनको छोरा अन्दाजी वर्ष २७ को नुर मोहम्मद रहेको प्रहरीले जनाएको छ ।
निजलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा आइतवार दिउँसो BR 30 Z 6466 नम्बरको मोटरसाइकलमा ४ किलो ९ सय ग्रामको दरले दुइवटा पोका बनाएर राखेको जम्मा ९ किलो ८ सय ग्राम गाँजासहित मलंगवा नगरपालिका वडा न-१ भेडियाही गाउँ स्थित ढलान सडक खण्डबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जानकारी दिएको छ ।
पक्राउ परेका भारतीय युवक नुर मोहम्मदलाई सशस्त्र प्रहरीले मोटरसाइकल र बरामद भएको लागुऔषधसहित सोही दिन साँझ आवश्यक अनुसंधानको लागि सदरमुकाम मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयलाई बुझाएको प्रवक्ता एवं डिएसपी यादवले जनाएको छ ।