काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको बिरुद्धमा जान नसक्ने बताएका छन् ।
सोमवार काठमाडौँमा आयोजित सत्तारुढ गठबन्धनको वागमती प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको खिलाफमा जान नसक्ने बताएका हुन् ।
उनले कसैले प्रजातन्त्र विरोधी कार्य गर्न पनि नसक्ने बताए ।
उनले गठबन्धन कायम रहेमा समावेशिताको खिलाफमा पनि कोही जान नसक्ने बताए । प्रधानमन्त्री देउवाले अहिले संक्रमणकालीन समय भएकाले आपसमा झगडा गर्न नहुने समेत बताए ।
उनले गठबन्धनलाई टिकाएर देश विकासको बाटोमा जानुपर्नेमा समेत जोड दिए ।
उनले भने– ‘गठबन्धनका कारणले सबैले टिकट पाउँदैनन् । यो हाम्रो पार्टीमा पनि, हरेक पार्टीमा त्यही समस्या होला । गठबन्धन छ चुनावी जितिहाल्छु टिकट चाहियो । त्यस्तो पनि छ अहिले ।
भोलिको दिनमा अझ यसलाई बढाउन सकिन्छ । भरसक म न्यायपूर्ण तरिकाले साथीहरुलाई चुनावमा उठाउने प्रयास गर्नेछु । हरेक पार्टीमा समस्या छ । तर अहिलेको बेला संक्रमणकाल हो ।
अहिलेको बेला झगडा गर्ने बेला होइन । अहिलेको बेला गठबन्धन टिकाउनु हो । अब देश विकासमा जाने हो ।’
प्रधानमन्त्री देउवाले गठबन्धनका कारण सबैले टिकट पाउन नसकेको भन्दै सबैलाई न्यायपूर्ण तरिकाले चुनावमा उठाउने प्रयास गरिएको समेत बताए ।
उनले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै गठबन्धन नबनेको स्पष्ट पारे ।
देशमा स्थायी शान्ति, दह्रो लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै उनले यसको अपरिहार्यता भोलि पनि रहने उल्लेख गरे ।
चुनावमा कुनै पनि दलको बहुमत नआउने भएकाले आपसमा मिल्नुपर्ने बाध्यता भएको उनको भनाई छ ।
गठबन्धनका दलहरुबीच आपसमा एकतावद्ध भएर गठबन्धनका उम्मेदवारलाई विजय गराउन उनले आग्रह गरे ।