नेकपा (एमाले)ले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आज बसेको सचिवालय बैठकले चुनावमा पार्टीविरोधी गतिविधिमा लागेका नेता भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले केन्द्रीय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलाम्पाकीलाई पनि केन्द्रीय सदस्य नरहने गरी कारबाही गरेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो ।
एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रिय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ । चुनावमा पार्टी विरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचीबाट हटाउने काम पनि गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताउनु भयो ।
एमालेले चुनाव विरोधी गतिविधिमा लागेका अन्य तहका नेताहरुलाई पनि कारबाही गर्ने तयारी गरिरहेको बताइएको छ ।