नेपाल टी–२० लिग फेरि सर्‍याे, शनिवारदेखि सुरु हुने

नेपाल क्रिकेट सङ्घ (क्यान) ले गर्ने नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता फेरि सरेको छ । यसअघि दुई पटकसम्म सरेको लिग आज शुक्रवारदेखि सुरु गर्ने तयारी थियो । तर श्रम स्वीकृतिका कारण केही विदेशी खेलाडी अझै आउन नसकेको र अन्य तयारी पूरा नभएको भन्दै प्रतियोगिता सरेको क्यानले जनाएको छ । अब शनिवारदेखि प्रतियाेगिता सुरु हुने क्यानले जनाएकाे छ ।

केही विदेशी खेलाडी भने नेपाल आइसकेका छन् । प्रतियोगिताका लागि क्यानले सेभेन थ्री स्पोर्ट्स कम्पनीसँग सम्झौता गरेको थियो । क्यानले आठ वर्षका लागि नेपाल प्रिमियर लिगको आयोजना अधिकार सेभेन थ्री स्पोर्टस् कम्पनीलाई दिएर ३३ करोड रुपैयाँ लिने सम्झौता गरेको थियो ।

प्रतियोगितामा काठमाण्डाै नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्ग्स र लुम्बिनी अल स्टार गरी छ टिमले खेल्नेछन् । क्यानले घोषणा गरेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग नै लथालिङ्ग भएपछि खेलाडी र समर्थक निराश भएका छन् भने क्यानमाथि प्रश्न उठेको छ ।