काठमाण्डाै | पोखरामा हिजो आइतवार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु गरिएकाे छ । पोखरामा शव बुझ्न चाहने आफन्तलाई पोस्टमार्टमपछि शव बुझाउन सुरु गरिएको हो ।
बाँकी सनाखत भइसकेका १८ जना र सनाखत हुन बाँकी २८ जना गरी ४६ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । शव लिनका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा पुगिसकेको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले आज अबेर भएकोले भोलि मङ्गलवार बिहान ९ बजेपछि शव काठमाण्डाै पठाइने जानकारी दिनुभयो ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले सेती नदीकाे खोँचमा खोजी कार्य जारी राखेको छ । आज पानीभित्रबाट एक जनाको शव निकालिएको र बाँकी तीन जनाको शव खोज्नका लागि गोताखोर टोलीसहित नेपाल प्रहरीका दुई वटा कुकुरसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।