कृषि क्याम्पसको लागि लालबन्दी १६ परवानीपुरलाई प्रस्ताव

सर्लाहीको लालबन्दी नगरपालिकाभित्र कृषि क्याम्पस स्थापनाका लागि मंगलबार छलफल गरिएको छ ।

काठमाडौँ विश्व विद्यालय धुलिखेलसँग समन्वय गरी लालबन्दी नगरपालिकाले नगरभित्र कृषि क्याम्पस खोल्ने तयारी गरिरहेको छ । त्यसक्रममा मंगलबार नगरभित्र क्रियाशील प्रमुख राजनीतिक दलका प्रतिनिधिसहित जनप्रतिनिधि, अन्य सरोकारवाला र अगुवालाई भेला गरेर जनज्योति बहुमुखी क्याम्पसको सभाहलमा छलफल गरिएको हो ।

कार्यक्रममा वक्ताहरुले मधेश प्रदेशकै प्रतिनिधित्व हुने गरी लालबन्दी नगरपालिकाले यहाँ कृषि क्याम्पस स्थापना गर्न गरिरहेको पहलमा प्रशंसा र समर्थन जनाएका छन् । लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा काठमाडौँ विश्व विद्यालय धुलिखेलका प्राध्यापक विवेक बराल, लालबन्दी नगरपालिकाकी उपमेयर कल्पनामाया पाख्रिनलगायतको आतिथ्यता रहेको थियो ।

लालबन्दी नगरपालिकाका मेयर अधिकारीले मधेश प्रदेशको मात्रै नभई भारतको उत्तरवर्ती प्रदेशका विद्यार्थी समेत आउन सक्ने गरी आफूहरुले कृषि क्याम्पस खोल्न लागेको बताए । क्याम्पस खोल्न काठमाडौँ विश्वविद्यालयले नगरपालिकालाई जग्गा उपलब्ध गराइ दिन र त्यसपछि विश्वविद्यालयको तर्फबाट सबै काम अघि बढाउने प्रतिवद्धता आएको छ ।

विश्व विद्यालयको सो प्रस्ताव अनुसार आफूहरुले पहिलो चरणमा लालबन्दी १६ परवानिपुरमा डिम जनता माध्यमिक विद्यालयको नाममा रहेको ६ बिघा जग्गा उपलब्ध गराउने गरी छलफल अघि बढाएको तर विश्वविद्यालयले सयदेखि डेढ सय रोपनी जग्गा मागेकाले जग्गा कसरी व्यवस्थापन गर्ने ? भन्ने विषयमै केन्द्रीत भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले बताए ।


कार्यक्रममा प्रमुख अतिथि सांसद चौधरीले लालबन्दीमा कृषि क्याम्पस खोल्नु आफ्नो प्राथमिकता भएको बताए । कृषि क्याम्पस स्थापनाका लागि सोमबार पनि जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसहितको उपस्थितिमा छलफल गरिएको थियो ।