हरिवन । सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा शुक्रबार एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
स्थानीय ३५ वर्षीय रामभरोस महतोले श्रीमती ३० वर्षीया नैनकुमारी महतोलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका हुन् । महतोले घरायसी विवाद हुँदा आवेशमा आइ श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
छिमेकीका अनुसार महतो दम्पतिबीच यसअघि देखि नै घरायसी झगडा हुँदै आएको थियो । श्रीमतीको हत्या गरी रामभरोस आफै इलाका प्रहरी कार्यालय हरिवनमा आएर आत्मसमर्पण गरेका छन् । उनलाई हिरासतमा राखी कानूनी कारवाही प्रक्रिया अघि बढाइएको हरिवनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शिवराम थापाले बताए ।
अभियुक्तले कार्यालयमा आएर आत्मसमर्पण गरेपछि प्रहरीले घटनास्थलमा पुगेर मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ ।