
भक्ती रिजाल , हरिवन । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १ मा अबस्थित प्रसिद्ध धार्मिक स्थल कैलाशपुरी क्षेत्र पछिल्लो समय ‘मर्निङ वाक’ गर्नेहरुको रोजाइमा पर्न थालेको छ।
हरिवनस्थित पूर्वपश्चिम राजमार्गबाट झण्डै पाँच किमी उत्तर चुरे क्षेत्रमा अवस्थित कैलाशपुरी र बन बाटिका छेत्रमा आजभोलि हरेक दिन ‘मर्निङ वाक’ मा जानेहरुको भिड देख्न सकिन्छ।
विशेषगरी हरेक सोमबार कैलाशपुरीमा पूजाआजाको लागि भक्तजनहरु पुग्ने गरेका छन्। अझ साउनको सोमबार त यहाँ हजारौँ भक्तजनको भिड लाग्ने गरेको छ,
‘सोमबार र विशेष चाडपर्वको बेला मात्र होइन, आजभोली हरेक दिन यहाँ ‘मर्निङ वाक’ गर्ने र घुमफिरको लागि आउनेको लर्को लाग्छ,’ स्थानीय हरि निरौलाले भने, ‘पछिल्लो समय कैलाशपुरी क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको देख्दा मन आनन्दित हुन्छ।’
कैलाशपुरीमा हरेक दिन बिहान चार बजे देखि नै मानिसहरु ‘मर्निङ वाक’ गर्दै पुग्ने गरेका छन्।
हरिवन नगरपालिकाको वडा नम्बर १, ८, ९, १०, ११ का सयौं मानिस दैनिक मर्निङ वाकका क्रमममा कैलाशपुरी र वन बाटिका क्षेत्र पुग्ने गरेका छन्।
यसले कैलाशपुरीको प्रचार प्रशारमा अझ सहयोग पुगेको हरिवन १ का वडाध्यक्ष टमबहादुर घिसिङ बताउनु हुन्छ।
व्यस्त दैनिकीबाट केही समय निकालेर हिँड्ने बानी बसालेमा शरीरलाई पनि फाइदा हुने भएकाले आफू पनि हरेक दिन कैलाशपुरी पुग्ने गरेको स्वास्थ्यकर्मीसमेत रहेका रामबाबु चौधरीले बताउनु भयो।
‘हिँड्दा मासंपेशी बलियो हुन्छ। फोक्सो र मुटुको चाल राम्रो हुन्छ,’ उहाँले भन्नुभयो, ‘दैनिक कम्तिमा पनि आधा घण्टा पसिना आउनेगरी हिँड्नु शरीरको लागि अत्यावश्यक छ।’
हिँड्दा दायाँ खुट्टा अगाडि सार्दा बायाँ हात पछाडी लैजानु पर्ने उहाँले बताउनु भयो। वृद्धवृद्धा र बिरामी तथा हाड जोर्नीको समस्या भएकाहरुले भने हिँड्दा साबधानी अपनाउनुपर्ने उहाँको भनाई छ।
पैदल हिड्ने बानिले मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मुटुरोग तथा मोटो पन नियन्त्रण गर्ने अर्का स्वास्थ्यकर्मी श्यम बिनोद कुश्वाहाले बताउनु भयो।
बिगत तीन वर्षदेखि मर्निङ वाक गर्दै आउनु भएका हरिवन १० युवा कुमार लुइटेलले बिहानी हिँडाइ शरीरको लागि अमृत बराबर हुने बताउनु भयो।
‘हामीले दिनहुँ अन्छी नगरी हिँड्ने हो भने औषधी उपचारको जरुरत नै पर्दैन। ब्यायाम गर्ने मान्छे निरोगी र फुर्तिलो हुन्छ,’ उनले भने।
विशेष गरेर शारीरिक श्रम गर्ने, खेतीकिसानी काम गर्ने भन्दा पनि शारीरिक श्रम नगरी दिन बिताउनेहरुमा स्वास्थ्य समस्या देखिने गरेको अर्का स्वास्थ्यकर्मी कृष्ण मोहन पोख्रेलले जानकारी दिनुभयो।
आजभोली मानिसहरुमा स्वास्थ्य चेतना बढ्दै गएको स्थानीय समाजसेबी निरज खड्का बताउनु हुन्छ।
‘रोग लागेपछि दौडिनु भन्दा रोग लाग्नै नदिने उद्देश्यले बिहानीपखको हिँडाइलाई मैले पनि निरन्तरता दिएको छु,’ खड्काले भन्नुभयो।
पैदल यात्रुको सुविधालाई मध्यनजर गर्दै सडकको ठाउँ ठाउँमा सडक बत्ती जडान गरिएको हरिवन ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाले बताउनु भयो।
‘पैदल यात्रुहरुको सुबिधालाई ध्यानमा राखेर बाटो छेउका झाडी र बुट्यान सफा गर्ने काम पनि हामीले गरेका छौँ,’ वडाध्यक्ष ढुंगानाले भन्नुभयो।