लालबन्दीमा खुल्यो मिटर व्याज पिडितका लागि न्याय कार्यालय

लालबन्दी । मिटर व्याज पिडित किसानलाई न्याय दिने उदेश्यले सर्लाहीको लालाबन्दीमा मिटर व्याज किसान मजदुर संघर्ष समिति न्याय कार्यालय खुलेको छ ।


लालबन्दी नगरपालिका ५ स्थित शान्तिटोलमा शनिवार विधिवत न्याय कार्यालयको उद्घाटन गरिएको हो । संघर्ष समितिका संयोजक कारिल धामी चौधरीको अध्यक्षता तथा माओवादी केन्द्रका नेता उपेन्द्र धामी चौधरीको प्रमुख आतिथ्यतामा कार्यालयको उद्घाटन गरिएको संघर्ष समितिले जानकारी दिएको छ ।


कार्यालयले अब देखि मिटरव्याज सम्बन्धी उजुरी, निवेदन लिएर प्रहरी र जिल्ला प्रशासन कार्यालय धाउनु नपर्ने जनाएको छ । उसले लालबन्दीमा कार्यालय खोल्नु अत्यावश्यक भएकोले खोलिएको र अन्य जिल्लामा पनि यस्ता कार्यालय क्रमशः खुल्दै जाने संघर्ष समितिले जनाएको छ । कार्यालयमा कानून व्यवसायी गोविन्द दाहालले कानूनी सेवा दिनु हुनेछ भने पिडितलाई आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया र आवश्यक सहयोग कार्यालयले नै गर्ने संघर्ष समितिका केन्द्रीय सदस्य सूर्यराज उप्रेतीले बताउनुभयो । 


जिल्लाका विभिन्न स्थानबाट ठुलो संख्यामा मिटरव्याज पिडित किसानहरुको सहभागिता रहेको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अतिथी बक्ताहरुले मिटर व्याज पिडित किसानलाई न्याय दिलाउने उदेश्यले सञ्चालनमा आएकोले कार्यालयले कसैलाई काखा कसैलाई पाखा नगरी सेवा दिनेमा आफूहरु विश्वस्त रहेको बताएका छन् ।


पत्रकार सोम दियालीले सञ्चालन गर्नुभएको कार्यक्रममा संघर्ष समितिका नथुनी मुखिया, रामईश्वर राउत, गरीब साहलगायतले कार्यालयलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।