नेपाली एनआराएनएको टोलिसँग केपि ओलिको भेट्बार्ता

काठमाडौ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीलाई राजनीतिक बाहेक पूर्ण अधिकार दिनुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा बद्री केसी र कार्यकारी अध्यक्ष कुल आचार्यसहितको टोलीले मंगलबार ओलीलाई भेटेको हो ।

भेटमा ओलीले गैरआवासीय नेपालीलाई नागरिकता दिन एमाले निकै सकरात्मक रहेको बताए । ओलीले गैरआवासीय नेपालीलाई ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मान्यता अनुरुप नागरिकताको निरन्तरता हुनुपर्ने बताए ।

उनले गैरआवासीय नेपालीलाई दिइने नागरिकतामा राजनीतिक अधिकार बाहेक अन्य अधिकारमा कुनै कटौती नगरिने बताए । ओलीले संविधानको भावना अनुरुप आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको नागरिकता गैरआवासीय नेपालीलाई प्रदान गर्न उचित हुने बताए ।

उनले नेपालको राजनीतिमा आउन चाहनेहरुले विदेशी नागरिकता त्याग गरेर आउन सक्ने सुझाव पनि दिए । भेटमा संघका अध्यक्ष आचार्यले विदेशमा बस्ने नेपालीको मुख्य माग दोहोरो नागरिकता भएको बताउँदै संविधानको भावना अनुरुप गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्नेमा जोड दिए ।

गैरआवासीय नेपालीले नागरिकता प्राप्त गरेपछि देशको आर्थिक, सामाजिक तथा सांस्कृति क्षेत्रमा समेत उल्लेख्य सहयोग पुग्ने आचार्यको भनाई थियो । भेटमा संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले संसदमा टेबल भएको गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक पास गरेर छिटो भन्दा छिटो कार्यान्वयन गर्न आग्रह गरे ।

टोलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला लगायतसँग पनि भेटघाट गरेको थियो ।