चन्द्रनगर गापा अध्यक्ष महतोको अर्को प्रशंसनिय कार्य : सुरु गरे आयुर्वेद स्वास्थ्य सेवा

सर्लाही । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाले आज देखि पहिलो पल्ट आयुर्वेद स्वास्थ्य सेवा सुरु गरेको छ ।

मधेश प्रदेश सरकार, आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवा कार्यालयको सहयोग र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा अब देखि नियमित रुपमा प्रदान गर्ने गरी नागरिक आरोग्य सेवा केन्द्र मार्फत चन्द्रनगर गाउँपालिकाका जनतालाई आयुर्वेद स्वास्थ्य सेवाको उद्घाटन गरिएको छ ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले वडा नम्बर ४ पोखरियामा स्थापना गरी उक्त नागरिक आरोग्य सेवा केन्द्रको उदघाटन गरे ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सर्लाही, मलंगवाको प्रमुख डा. नन्द किशोर कुशवाहाको अध्यक्षता र चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतोको प्रमुख आतिथ्यमा आज एक कार्यक्रमको बिच नागरिक आरोग्य सेवा केन्द्रको उदघाटन भएको हो । यस अघि गाउँपालिकामा एलोपेथिक स्वास्थ्य सेवा मात्र उपलब्ध थियो ।

स्थानीय स्तरमा दम, रक्तचाप, बाथ, मधुमेह, क्यान्सर र मुटुरोगी लगायत नसर्ने तथा कडा रोगीको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा आयुर्वेद स्वास्थ सेवा संचालनले दिर्घरोगीहरु सबैभन्दा बढी लाभान्वित हुने अध्यक्ष महतोले बताए ।

विश्वकै प्राचीन चिकित्सा पद्धति आयुर्वेदका धेरै फाइदा छन् । आयुर्वेद औषधि प्राकृतिक जडीबुटीबाट तयार गरिन्छ । खासगरी, बोटबिरुवा, जनावर र खनिजपदार्थ आयुर्वेदिक औषधिका स्रोत हुन् ।

आयुर्वेदिक औषधिको एलोपेथिक औषधिको जस्तो ‘साइड इफेक्ट’ नहुने भएकाले आयुर्वेद मानव स्वास्थका लागि लाभदायक हुने उहाँको तर्क थियो ।

आयुर्वेदिक उपचार प्रणालीसँग जोडिएको आरोग्य केन्द्रमा स्थानीयले निःशुल्क औषधी उपचार पाउने छन् । केन्द्रमा थेरापी तथा योग सेवा समेत सञ्चालनमा ल्याइने छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मलंगवाले सेवा विस्तारको क्रममा चन्द्रनगर गाउँपालिकामा पनि सेवा सुरु गरेको हो । आयुर्वेदिक उपचार प्रणाली नेपाली समाजमा निकै लोकप्रीय र अन्य प्रभाव नपार्ने उपचार प्रणालीको रुपमा रहँदै आएको छ ।

नागरिक आरोग्य सेवा केन्द्रमा एक जना बैध र एक जना कार्यालय सहायकको पदस्थापन भई आज देखि कार्य शुरु गरेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मलगंवाले २ जना कर्मचारी र आयुर्वेदिक औषधिहरु उपलब्ध गराएको थियो । गाउँपालिकाले सेवा प्रदान गर्ने भवन, फर्निचर तथा अन्य मसलन्द प्रदान गरेको छ ।

उदघाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थिड., वडा न. २ का वडा अध्यक्ष शभ्मु साह तेली, वडा न. ३ का वडा अध्यक्ष सीताराम महतो, वडा न. ४ का वडा अध्यक्ष राजिव सिंह, वडा न. ६ का वडा अध्यक्ष रामस्वरुप राउत, वडा न. ७ का वडा अध्यक्ष दीपेन्द्र सिंह लगायतका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी, विभिन्न राजनितिक दलका राजनितिकर्मी तथा समाजसेवीहरुको उल्लेखनीय सहभागिता रहेको गाउँपालिकाका प्रशासन शाखाका अधिकृत कृष्ण आचार्यले जानकारी दिए ।