लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकामा बुधबारबाट भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको जमिन नापजाँच कार्य प्रारम्भ भएको छ ।
नगरपालिकाको वडा नं. १० चन्द्रपुरबाट जमिन नापजाँच कार्यको औपचारिक रुपमा शुभारम्भ गरिएको हो । पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, प्रदेश सभा सदस्य बेची लुङ्गेली, लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, राष्ट्रिय भूमि आयोग सर्लाहीका अध्यक्ष चन्द्रप्रकाश वाग्ले, नापी कार्यालय हरिवनका प्रमुख छत्रबहादुर लुङ्गेली, आयोगको लालबन्दी नगरपालिकाको इकाईका प्रमुख उद्धव श्रेष्ठलगायतको उपस्थितिमा जग्गा नापनक्साको काम शुभारम्भ गरिएको हो ।

नगरको १७ वटै वडामा बसोवास गर्ने भूमिहिन दलित, भूमिहिन सुकुम्वासी, अव्यवस्थित बसोवासीलाई उनीहरुले कमाउँदै आएको जग्गा नापजाँच गरी आगामी मङ्सिरको पहिलो साताभित्र जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने उद्देश्यसहित जग्गा नापनक्साको काम थालिएको आयोगको लालबन्दी इकाईका चेतबहादुर मगरले बताए ।

जग्गा नापजाँचसँगै अहिलेसम्म वडा नं. ४, ७, ८, ९, १० र १६ को विवरण इन्ट्री सकेर वडा नं. ६, ११ र १ को विवरण चढाउने काम चलिरहेको नगरपालिकाको सूचना प्रविधि अधिकृत सुदर्शन श्रेष्ठले बताएका छन् ।
जिल्लामा अहिलेसम्म लालबन्दीसहित हरिवन, ईश्वरपुर, बागमती, बरहथवा, चन्द्रनगर, हरिपुर र कविलासी गरी आठवटा पालिकामा एैलानी जग्गामा बसोवास गर्ने अव्यवस्थित बसोवासी तथा भूमिहिन सुकुम्वासीको विवरण सङ्कलनको काम भइसकेको छ । यि आठ पालिकामा अब क्रमैसँग जग्गा नापचाँजको व्यवस्था मिलाई जग्गाधनी प्रमाण पूर्जा वितरणको तयारी थालिने विश्वकर्माले बताए ।

आयोगले २०७६ साल माघ २८ गतेसम्म भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरु बसोवास गरिरहेको र उनीहरुले कमाई गरिरहेको जग्गामा १० वर्ष पुगेकाहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न लागेको हो । विवरण नै सङ्कलन नभएका जिल्लाका बाँकी १२ वटा पालिकामा पनि अब चाँडै विवरण सङ्कलनको काम अघि बढाइने आयोगले जनाएको छ ।
