प्रचण्ड र नारायणकाजी आज सर्लाही आउदै

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आज सर्लाही आउदै छ्न ।

आज शनिबार सर्लाहीमा हुने पार्टी प्रवेश कार्यक्रमका लागि र कार्यकर्ता भेलालाई सम्बोधन गर्न शीर्ष नेतृत्व नै सर्लाही आउन लागेका हुन ।

दिउँसो बागमती नगरपालिका– ८ सोल्टीबजारमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापतिसहितका कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्ने जनाइएको छ । कांग्रेसका क्षेत्रीय सभापति जबाहर कुशवाहा तथा एमालेका बागमती नगर कमिटी सचिव हरिभक्त खड्का र अन्य हजारभन्दा बढी नेता–कार्यकर्ता माओवादीमा भित्रिन लागेको बताइएको छ । उनीहरुलाई प्रचण्ड र श्रेष्ठले पार्टी प्रवेश गराउनेछन् ।

आगामी संसदीय निर्वाचनलाई लक्ष्ति गरी माओवादीले पार्टी प्रवेश कार्यक्रमहरु गरिरहेको बताइन्छ । बागमती, हरिवन र बरहथवा नगरपालिका तथा चक्रघट्ट गाउँपालिका रहेको सर्लाहीको क्षेत्र नं ३ माओवादी केन्द्रको आफ्नो बलियो आधारका रुपमा लिइन्छ ।