Saturday, April 18News That Matters

हरिपूर्वामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला

हरिपूर्वा । सर्लाहीको हरिपूर्वामा एक युवकको विभत्स ढंगले हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको छ ।

हरिपूर्वा नगरपालिका–३, धनकौलका रामसोगारथ रायको छोरा वर्ष १९ का सुशील कुमार यादवको हत्या भएको अवस्थामा शौचालयको खाल्डोमा शव फेला परेको हो । सोमबार बिहान गाउँकै आधारभूत विद्यालय धनकौलको चर्पी निर्माणका लागि खनिएको करिव ६ फिट गहिरो खाल्डोमा शव फेला परेको हो ।

धारिलो हतियारले घाँटी रेटिएको र फलामको तिखो सुईरोले आँखामा प्रहार गरेर हत्या गरिएको अवस्थामा सुशीलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिनुभयो । भारतमा मजदुरी गर्ने सुशील केही दिनअघि मात्रै घर आएका थिए ।

सुशील गएको सुक्रबारदेखि नै घरबाट बेपत्ता भएपनि परिवारले प्रहरीमा भने खबर गरेको थिएन । परिवारले सुशील पुनः कामका लागि भारत नै गएको होला भनी प्रहरीमा सूचना नगरी बसेको तर सोमबार बिहान शव फेला परेपछि मात्रै सुशील चारदिन अघिदेखि नै बेपत्ता रहेको खुल्न आएको डीएसपी यादवले बताउनुभयो ।