एकिकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दीले बुझायो नगरप्रमुखलाई ध्यानाकर्षणपत्र

लालबन्दी । नेकपा (माओवादी केन्द्र) निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगर कमिटिले लालबन्दी नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

संगठनले लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीलाई १९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । शिक्षक संगठनले स्थानिय सरकारले माध्यामिक शिक्षामा देखिने खालको कुनै काम नगर्दा शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान हुन नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।

संगठनले आफ्नो ध्यानाकर्षण पत्रमा मासिक पारिश्रमिकको व्यावस्था, शैक्षिक तालिम तथा अवलोकन भ्रमण, बालविकास र कर्माचारीहरुलाई सम्मानजनक तलबको व्यवस्था, आर्थिक तथा प्राविधिक सहयोग सहित विद्यालय नियमित अनुगमन र नगरपालिकाको कुल बजेटको २० प्रतिशत रकम शिक्षामा विनियोजन गर्नु पर्ने माग राखेको छ ।

संगठनको लालबन्दी नगर कमिटिका अध्यक्ष तुलसा गौतमका अनुसार विद्यालय बाहिर रहेका विद्यालय उमेर समुहका बालबालिकाहरुलाई विद्यालय ल्याउन र टिकाउन, गरीब, जेहन्दार छात्रछात्राहरुका लागि शिक्षामा बजेट छुट्याउन, अतिरिक्त क्रियाकलापहरुका लागि बजेटको व्यवस्था गर्न, आवश्यकताका आधारमा भौतिक सुविधा वितरण गर्न, स्थानिय पाठ्यक्रम निर्माण, प्रयोग र एकरुपता कायम गर्न र माध्यामिक तहमा एक विद्यालय एक प्राविधिक कार्यक्रम सञ्चालन गर्न लगाएतका माग राखेर ध्यानाकर्षणपत्र नगरप्रमुखको कार्यकक्षमै पुगेर हस्तान्तरण गरिएको हो ।