सर्लाही । शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरको सूचना अनुसार यही मिति २०७९ साउन २८ गते विहान ८ः०० बजेदेखि सञ्चालन हुने निम्नमाध्यमिक तह अध्यापन अनुमतिपत्रको लिखित परीक्षाकाे सर्लाही परीक्षा केन्द्रका लागि नियुक्त केन्द्राध्यक्षहरुको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
अभिमुखीकरणमा जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले शिक्षक सेवा आयोग परीक्षा सञ्चालन निर्देशिका, २०७८, शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरको परीक्षा सञ्चालन विषयक परिपत्र तथा जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीको निर्देशनानुसार स्वच्छ, निष्पक्ष, मर्यादित, अनुशासित, व्यवस्थित, विश्वसनीय र भय रहित वातावरणमा परीक्षा सञ्चालन, व्यवस्थापन एवं सम्पादन गर्नु/गराउनु हुने अपेक्षा राखेको बताउनु भयो । उहाँले तराई मधेश क्षेत्रमा परीक्षामा हुने गरेको अनियमिततालाई पूर्णरुपमा बन्द गरी जिल्लाको साख जोगाउने सोचले राष्ट्रसेवक कर्मचारीहरुलाई केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकमा नियुक्ति गरिएको बताउनु भयो । उहाँले उर्जावान युवा केन्द्राध्यक्षहरुबाट परीक्षा मर्यादित रुपमा सञ्चालन हुनेमा विश्वस्त रहेको बताउनु भयो ।
यसैगरी जिल्ला परीक्षा समन्वय समितिका सदस्य सचिव एवं निमित्त इकाइ प्रमुख रामआधार सिंह कुशवाहाले कार्यक्रम माथी प्रकाश पार्दै शिक्षक सेवा आयोगको लिखित परीक्षा “शिक्षक सेवा आयोग परीक्षा सञ्चालन निर्देशिका, २०७८” बमोजिम सञ्चालन गर्नु पर्ने बताउनु भयो । उहाँले परीक्षाको मर्यादा कायम गर्न हरसम्भव प्रयास गरिने बताउनु भयो ।
यसैगरी अभिमुखीकरणमा शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक सुनिल कुशवाहाले शिक्षक सेवा आयोगकाे परीक्षालाई स्वच्छ, निष्पक्ष, मर्यादित, अनुशासित, व्यवस्थित, विश्वसनीय र भय रहित वातावरणमा सञ्चालन, व्यवस्थापन एवं सम्पादन गर्न आवश्यक कानून, विधि र प्रकृयाको बारेका सहजीकरण गर्नु भयो । उहाँले शिक्षक सेवा आयोगबाट भए गरेका निर्देशनहरुकाे बारेमा समेत सहजीकरण गर्नु भयो ।
“शिक्षक सेवा आयोग परीक्षा सञ्चालन निर्देशिका, २०७८” बमोजिम सम्भव भएसम्म संघीय/प्रदेश/स्थानीय/सार्वजनिक संस्थानका अधिकृत एवं सहायकस्तरका (स्थायी/करार) कर्मचारीहरुलाई खटाइने व्यवस्था रहेको हुदाँ राष्ट्रसेवक कर्मचारीलाई नै जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीले केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकमा नियुक्ति गरेको छ । सर्लाहीमा २० वटा परीक्षा केन्द्रहरु रहेका छन । परीक्षार्थीहरुको यातायात र बसाईलाई मध्यनजर गर्दै जिल्लाका सदरमुकाम मलंगवामा ९ वटा र हाइवेमा ११ वटा गरी जम्मा २० वटा परीक्षा केन्द्र कायम गरिएको छ । उक्त परीक्षा केन्द्रहरुमा प्रतिकेन्द्र २५६ जना परीक्षार्थीका दरले जिल्लाभरीका २० वटा केन्द्रमा गरी जम्मा ५१२० जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुने बताइएको छ । यसका लागि २० जना केन्द्राध्यक्ष, ४० जना सहायक केन्द्राध्यक्ष, २५६ जना निरीक्षक, ६० जना सहयोगी र आवश्यकता अनुसार सुरक्षाकर्मी समेत खटाइएको छ ।
कार्यक्रममा प्रजिअ थानेश्वर गौतम, प्रहरी उपरीक्षक प्रविण पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक भरत खानिया, उप अनुसंधान निर्देशक चन्दन कुमार झा, सप्रजिअ हरि प्रसाद अधिकारी, निमित्त इकाइ प्रमुख रामअधार सिंह कुशवाहा, प्राविधिक सहायक सुनिल कुशवाहा, लेजोसं अनिल साह, सब इन्जिनियर फनिन्द्र साह, एमआइएस अपरेटर पवन कुशवाहा, केन्द्राध्यक्षहरूको उपस्थिति रहेको थियोे ।
अभिमुखीकरण कार्यक्रमका अध्यक्षता जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीका अध्यक्ष एवं प्रजिअ थानेश्वर गौतमले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन प्राविधिक सहायक सुनिल कुशवाहाले गर्नुभएको थियो ।