गोडैता । सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने गोडैता बजारमा सञ्चालनमा रहेको एक आईएमईमा शुक्रबार बिहान डकैती भएको छ । नकाबधारी समूहले हतियार देखाई ८ लाखभन्दा बढी रकम लिएर फरार भएका छन् ।
घटनालगत्तै प्रहरी नायब उपरीक्षकको कमान्डमा प्रहरी परिचालन गरिएको छ । चार जनाको समूहमा हतियारसहित आएका नकाबधारीको समूहले गोडैता नगरपालिका–८ बजारमा सञ्चालनमा रहेको आईएमई पसलमा लुटपाट गरेको हो ।
लुटेराको समूहले आईएमईको एक थान कम्प्युटरसहित ८ लाख ५० हजार रुपैयाँ लुटेर लगेको छ । बिहान १० बजेको समयमा दुईवटा मोटरसाइकलमा चार जना नकाबधारी समूह हतियार देखाई लुटपाट गरेको सञ्चालक शुभनारायण पण्डितले बताए । वडाध्यक्ष मिरेन्द्रकुमार झाले गोडैताको मुख्य बजारमै लुटपाट भएको जानकारी दिए ।
उनका अनुसार दुई सय मिटर भित्रमा प्रहरीचौकी रहेको छ । घटनाको जानकारी पाए लगत्तै त्यस क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजय यादवको नेतृत्वमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको हो । प्रहरी नायब उपरीक्षक यादवले घटना बारेमा सोधपुछ तथा लुटेरा समूहको पहिचानमा प्रहरी जुटेको बताए ।
उनले यस घटनामा सुक्ष्म तरिकाले अनुसन्धान सुरु भएको जानकारी दिए ।