केन्या र नेपाल आज भिड्दै

केन्या भ्रमणमा रहेको नेपालले आज सोमबार घरेलु टोलीविरुद्ध तेस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ ।

नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ ।

केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा हुनेछ । तीन खेलको सिरिजमा नेपाल २–० ले अघि रहेको छ ।

यस अघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३–० ले आफ्नो बनाउन चाहेको छ ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा सान्त्वना जित हात पार्न चाहेको छ ।
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज पनि ३–२ ले जितेको थियो ।