मिटरव्याजीविरुद्ध २,२८९ उजुरी, कार्यदलले बुझायो प्रतिवेदन

 काठमाडौं । गृह मन्त्रालयले गठन गरेको मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस कार्यलदलले सोमबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक भीष्मकुमार भूसालले २२ बुँदे सिफारिससहित मन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।

कार्यदलका अनुसार मिटरव्याजीविरुद्ध भदौ २६ गतेसम्म जिल्ला प्रशासन कार्यालयहरुमा दुई हजार २८९ वटा उजुरी परेको छ । तीमध्ये भदौ २६ गतेसम्म ५९ वटा उजुरी फरफारक भइसकेका छन् भने ७ वटा उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको कार्यदलले जनाएको छ । त्यस्तै ७ वटा उजुरीमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कार्यदलले गत भदौ ८ देखि १२ गतेसम्म लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, मधेश प्रदेशका सर्लाही, महोत्तरी, धनुषा, सप्तरी र सिरहा तथा प्रदेश १ को मोरङ गरी ७ जिल्लाका मिटरव्याजीसँग छलफल गरेको थियो ।

उजुरीहरूको विश्लेषण गर्दा ४ वा सो भन्दा बढी उजुरी परेका आरोपितहरूको संख्या ३३ रहेको र एकै व्यक्तिले २३ जना विरुद्ध मिटरब्याजीको उजुरी दर्ता गरेको देखिएको कार्यदलले जनाएको छ ।

प्रतिवेदन बुझाएसँगै कार्यदलको कार्यकाल समाप्त भएको छ । तर स्थानीय प्रशासनले उजुरी उपर छानबिन प्रक्रियालाई निरन्तरता दिने गृह मन्त्रालयले जनाएको छ ।