काठमाडौं | मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रहरीले सेनासँग साना हतियार मागेको छ ।
निर्वाचनको सुरक्षामा साना हतियार अपुग हुने निष्कर्ष सहित प्रहरी प्रधान कार्यालयले ‘बालगिरि’मा हतियार दिन सेनालाई पत्राचार गरेको हो ।
निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागी ठुला हतियारको समस्या छैन । तर, साना हतियार करिब २५ सय अपुग हुने प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए ।
‘अपुग हतियार सेनासँग सापट लिन पत्राचार भएको छ,’ ती उच्च अधिकारी भन्छन्–‘स्थानीय चुनावमा पनि हामीले सेनासँग लिएका थियौँ, यस पटक पनि सेनालाई हतियार सापट दिन प्रस्ताव गरेका छौँ ।
नेपाली सेनामा हतियार सापट लिनुलाई ‘बालगिरी’ भनिन्छ । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा प्रहरीले ७ सय भन्दा बढी पेस्तोल सेनासँग ‘बालगिरी’मा लिएको थियो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी प्रहरीले २८ सय थान पेस्तोल उपलब्ध गराउन सेनालाई पत्राचार गरेको छ । अपुग हतियार अन्य सुरक्षा निकायसँग सापटीमा लिन लागेको प्रहरी प्रधान कार्यालयका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।
उनले भने–‘केही हतियार हामीलाई अपुग हुन्छ, सो अपुग हतियार अन्य सुरक्षा निकायबाट लिन्छौँ ।’
पेस्तोल २८ सय थान मागे पनि नेपाली सेनाले करिब १ हजार मात्रै उपलब्ध गराउन सकिने सङ्केत गरेको छ । नेतृत्व तहमा भएको छलफल अनुसार करिब १ हजार हतियार आउने सम्भावना रहेको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रहरीले १ लाख १५ हजार म्याद प्रहरी भर्ना प्रक्रिया सुरु गरिसकेको छ । स्थानीय तह निर्वाचनमा १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ केन्द्र थिए ।
यस पटक १० हजार ८ सय ९१ मतदान स्थल र २२ हजार २ सय २६ मतदान केन्द्र कायम गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।
तर, कुन जिल्ला भित्र कहाँकहाँ मतदान स्थल कायम गर्ने भन्नेबारे आयोगले अझै निर्णय गरेको छैन । सो निर्णय नहुँदा सुरक्षा व्यवस्थापनमा समस्या भएको प्रहरी अधिकृतहरू बताउँछन् ।
यसपटकको निर्वाचनमा वृद्धाश्रम, कारागार र सरकारी कर्मचारीले पनि भोट हाल्न पाउने गरी मतदान स्थल थप गरिएको छ ।
मङ्सिर ४ मा हुने चुनावमा १० वटा जिल्लामा ५ लाख मतदाता थपिएका छन् ।