सर्लाहीको हरिवनबाट प्रहरीले साढे १७ लाख मूल्य बराबरको चिनीसहित दुई ट्रक नियन्त्रणमा लिएको छ।
हरिवन नगरपालिका १० नयाँरोडबाट ५० किलो दरका ९ सय ८० बोरा चिनी लोड गरिएका दुई ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरीले बरहथवाबाट नयाँरोडतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ६५८५ र ना. ७ ख ६१४५ नम्बरका ट्रक नियन्त्रणमा लिएको हो।
प्रदेश २-०३-००१ ख ६५८५ नम्बरको ट्रकबाट ५० किलो दरका ५ सय बोरा र ना. ७ ख ६१४५ नम्बरको ट्रकबाट ४ सय ८० बोरा चिनी बरामद गरिएको हो।
चामलको बिल बनाएर चिनी ढुवानी गरेको पाइएपछि ट्रक र चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए।
बरामद चिनी र ट्रक आवश्यक कारबाहीका लागि भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जनाएको छ।