चट्याङ लागेर १ जनाको मृत्यु, ४ जना घाइते

रितिक अधिकारी / सर्लाहीको ईश्वरपुर नगरपालिका १२ स्थित चुरेभेगमा पर्ने गुईडुङमा सोमबार अपरान्ह चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । सोमबार अपरान्ह करिब ४ बजे पानीसँगै परेको चट्याङ लागेर गुईडुङका अन्दाजी २८ वर्षीय प्रेमबहादुर घलानको ज्यान गएको हो भने २ वर्षीय बालिकासहित चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रबिन पोखरेलले जानकारी दिनुभयो ।

उनका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका घलानलाई उपचारका लागि सोमबार साँझ बर्दिवासस्थित जनसेवा अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । घलानलाई ज्वाइँ वुद्धबहादुरको घरमा पारिवारिक छलफल चलि रहेको समयमा चट्याङ लागेको स्थानीयले बताएका छन् । चट्याङ लागेर मृतक घलानकी श्रीमती २६ वर्षीया नन्दीमाया घलान,ज्वाइँ २७ वर्षीय वुद्धबहादुर पाख्रिन, वुद्ध बहादुरकी छोरी २ वर्षकी प्रतिमा पाख्रिन र स्थानीय २७ वर्षीय रुद्रमान स्याङतान घाइते भएका छन् । उनीहरु सबैलाई उपचारका लागि जनसेवा अस्पताल बर्दिवास महोत्तरी पुर्‍याएको स्थानीयले बताएका छन् ।

घाइते सबैको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । चट्याङ लागेपछि अचेत भएकी २ वर्षकी बालिका प्रतिमाको अहिले होस खुलेको अस्पताल स्रोतले जनाएको छ । सडक नपुगेको त्यस ठाउँमा घारिबथान स्थित चुरेको फेदीबाट एक घण्टा भन्दा बढी पैदल हिँडेर डाँडा चढेपछि गुईडुङ पुगिन्छ ।