फूलजोर खोलाले गाडी बगायो, चालकसहित ३ जनाले भागेर ज्यान जोगाए

लालबन्दी | सर्लाहीको परवानिपुर हुँदै देउरालीबाट घारिबथानतर्फ जाँदै गरेको एउटा म्याजिक गाडी मंगलबार दिउँसो फूलजोर खोलामा आएको बाढीले बगाएको छ।​

डिसहोमका कर्मचारी मर्मतको काम गर्दै हिँडिरहेका बेला लालबन्दी नगरपालिका १५ देउरालीबाट ईश्वरपुर नगरपालिका १२ घारिबथानतर्फ जान खोज्दा फूलजोर खोलामा आएको बाढीले उनीहरु सवार बा १९ च ९६६० नम्बरको म्याजिक बगाएको हो।

माथि चुरे डाँडातिर ठूलो पानी पर्नासाथ खहरे खोलामा दिउँसो ३ बजेतिर एक्कासी बाढी आएको थियो। खोलाले गाडी बगाउनासाथ भित्र रहेका चालकसहित ३ जनाले भने तत्कालै भागेर ज्यान जोगाएका थिए  ।

अरु बेला पानी नै नहुने भएपनि बर्खाको बेला त्यहाँ पानी पर्नासाथ ठूलो बाढी आउने गरेको छ। सर्वसाधारणले जसोतसो खोला तरेपनि सवारी साधन वारपार गराउन भने समस्या हुने गरेको छ।