मधेस प्रदेशकै उत्कृष्ट सगुन सहकारीको मुनाफा पौने ५ करोड

हरिवन । मधेस प्रदेशकै उत्कृष्ट सहकारीका रूपमा स्थापित सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले आज भव्य कार्यक्रमका बीच आफ्नो २३औँ वार्षिकोत्सव मनाएको छ।

सगुनका अध्यक्ष केशव ढकालको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका केन्द्रीय अध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताले सगुन प्रदेशकै नमुना सहकारीका रूपमा स्थापित हुँदै गएको बताए।

कार्यक्रमका प्रमुख अथिति कँडेलले सगुनले आफ्ना सेयर सदस्य र समुदायमा आधारित उत्कृष्ट सेवा प्रदान गरिरहेको भन्दै प्रशंसा गरे।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ध्रुवनारायण यादव, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारीका प्रकाशप्रसाद पोखरेल, जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, निवर्तमान प्रदेश सांसद डिल्ली उप्रेती, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, बागमती नगरपालकाका मेयर भरत थापा, बागमती नगरपालिकाकी मेयर कल्पना कटुवाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

११ हजारभन्दा धेरै सेयर सदस्य आबद्ध सगुनको कूल सेयर पुँजी १३ करोड ९२ लाख भन्दा धेरै छ। गत आर्थिक वर्षमा सगुनले एक अर्ब ४७ करोड ४३ लाखभन्दा धेरैको कारोबार गरेर कूल ४ करोड ६९ लाख रुपैयाँभन्दा धेरै मुनाफा गरेको संस्थाका सचिव राजकुमार उप्रेतीले जानकारी दिए।

यसैबीच साधारणसभाका अवसरमा संस्थाले आयोजना गरेको रक्तदान शिविरमा ७५ जनाले रक्तदान गरेका छन्। संस्थाले आज आफ्नै वेबसाइट सुरुवात पनि गरेको छ।

कार्यक्रममा नियमित बचतकर्ता, बाल बचतकर्ता, उत्कृष्ट कारोवार गर्ने सेयर सदस्यलाई सम्मान गरिएको थियो।