आज दशैंकाे साताैं दिन : फुलपाती , घरघरमा भित्र्याइदै

सर्लाही । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व असाेज १६ गते , आइतबार ( आज ) घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदै छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरि पूजाआजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु , हलेदो , केराको बोट , धानको बाला , बेलपत्र , दारिम , जयन्ती , अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।

हनुमानढोका दरबारको दशैं घरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैं घरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी , गुर्जुको पल्टन , नेपाली सेनाको ब्यान्डबाजा , पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा रहेको छ ।

राजतन्त्र रहुन्जेल हनुमानढोका दरबारको दशैं घरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीको महान चाड दशैं अर्थात दुर्गा पूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । घटस्थापनाका दिन जमरा राखिएको पूजा कोठामा आज कालरात्रिको विशेष पूजा गरिन्छ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम अझ तीव्र हुने गर्छ । नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो , चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दशैंको रौनकतालाई अझ बढाउने गर्छ ।