बाढी पहिरोले पश्चिम नेपालका धेरै विद्यालयमा क्षति

३१ असोज, काठमाडौं । असोज तेस्रो साता परेको वर्षाका कारण पश्चिम नेपालका धेरै विद्यालयमा क्षति पुगेको छ । वर्षा पछिको बाढी र पहिरोका कारण धेरै विद्यालय भवन भत्किनुका साथै बाढी पसेर विद्यालयको कागजात नष्ट भएको स्थानीय तहहरुले जानकारी दिएका छन् । बाढी, पहिरोका कारण क्षति पुगेका विद्यालयहरुको यकिन विवरण संकलन भइनसकेको उनीहरुको भनाइ छ ।

दाङको गढवा गाउँपालिकाका मात्रै ७ वटा विद्यालयमा क्षति पुगेको छ । २८ वटा विद्यालय रहेको गाउँपालिकाका धेरै विद्यालयमा पानी पसे पनि ७ वटामा भने बढी क्षति पुर्याएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत श्यामबहादुर वि.क.ले बताए ।

उनका अनुसार वडा नम्बर २ महदेवामा रहेको नमुना आधारभूत विद्यालयको दुई वटा कोठा भत्किनुका साथै सबै कक्षामा लेदो जमेको छ । खौराहा खहरे खोला पसेर कक्षा कोठामा बस्नै नमिल्ने गरी क्षति पुर्याएको छ ।

त्यस्तै गढवाकै राप्ती आधारभूत विद्यालय पचहियामा गंगरे खहरे खोला पस्दा करिब २५ मिटर पर्खाल र गेट भत्किनुका साथै कक्षा कोठाहरु सबैमा पानी पसेको छ । बालकक्षादेखि ३ कक्षासम्मको कार्पेट, खेलौना, शैक्षिक सामग्री काम नलाग्ने भएको छ ।

सरस्वती आधारभूत विद्यालय चन्दनपुरको पनि पर्खाल भत्काएको छ । बालकल्याण आधारभूत विद्यालय बालाखुटीको बालकक्षादेखि कक्षा तीनसम्म बस्नै नमिल्ने गरी क्षति पुगेको छ ।

अर्को विद्यालय चैनपर माविको डेढ सय मिटर पर्खाल भत्किनुका साथै तल्लो तलाका सबै कक्षामा पानी पसेको छ । बालकक्षादेखि कक्षा ३ सम्मको कार्पेट, खेलौना, शैक्षिक सामग्री काम नलाग्ने भएको छ । जनता मावि गढवाको करिब एक सय मिटर पर्खाल भत्किएको छ । मावि पचहियाको १५ मिटर पर्खाल भत्काएको छ ।

शाखा अधिकृत विकले क्षति पुगेका विद्यालयहरुको लागि पालिकाले काम गर्ने बताए । हालै गाउँपालिका अध्यक्ष यमनारायण पोखरेलले बाढी प्रभावित विद्यालयको स्थलगत निरीक्षण गरी गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताएका छन् ।

दाङको गढवा गाउँपालिका–२ महदेवामा रहेको नमुना आधारभूत विद्यालयको अफिस कोठाभित्र जम्मा भएको लेदो माटो ।

दाङकै लमही नगरपालिकामा अहिलेसम्म दुई वटा मावि र दुई वटा आधारभूत विद्यालय गरी ४ वटा विद्यालयमा क्षति पुर्याएको जानकारी प्राप्त भएको शिक्षा शाखा अधिकृत रवीन्द्र क्षेत्रीले बताए ।

वडा नम्बर ६ देउपुरस्थित आदर्श माविका कागजात बाढी पसेर डुबाएको छ ।

सोनपुर माविमा विद्यालयको अधिकांश कागजात भिज्नुका साथै बालकक्षादेखि तीन कक्षासम्मका शैक्षिक सामग्री, टिभी लगायतका सामग्री काम नलाग्ने भएको प्रधानाध्यापक नवराज पोख्रेलले बताए । उनले भने ‘बालबालिकाको लागि राखिएको ४२ इन्चको टिभी, ५० हजार मूल्य बराबरको बालबालिकाको खेलौना, विद्यालयको कागजात, कार्पेट काम नलाग्ने भएको छ ।’

पालिकाकै अर्को विद्यालय हिमाल आधारभूत विद्यालयमा झन् बढी क्षति पुर्याएको शिक्षा अधिकृत क्षेत्रीले बताए । उक्त विद्यालयको करिब १४ वटा कम्प्युटरको सीपीयू डुबाउनुको साथै विद्यालयको सबै कागजात डुबानमा परेको छ । बालकक्षादेखि ३ कक्षासम्मका कार्पेट, शैक्षिक सामग्री काम नलाग्ने गरी बिगारेको जानकारी आएको क्षेत्रीले बताए ।

विद्यालयमा साढे चार फिटसम्म पानी जमेको थियो । उनले भने ‘यहाँ सबैभन्दा बढी क्षति पुगेको छ । क्षतिको यकिन विवरण आउन केही समय लाग्छ ।’

पालिकाको बालोदय आधारभूत विद्यालयको पनि पर्खाल भत्किएको छ । यो विद्यालय भने अलि अग्लो स्थानमा भएकाले कक्षाकोठामा असर नगरेको उनले बताए ।

हुम्लाको ताँजाकोट गाउँपालिकाका एक मावि र दुई आधारभूत विद्यालय गरी तीन वटा विद्यालयमा क्षति पुर्याएको शिक्षा शाखा प्रमुख जयरुद्र ढकालले बताए । त्यसमध्ये जनप्रकाश माविको चार कोठे भवन पूर्णरुपमा भत्किएको ढकालले जानकारी दिए ।

रामदेवको आविको ६ वटा कोठा पूर्ण रुपमा भत्किएको छ । कैलाश आविको आधा भवन पहिरोले तानेको र अरु पनि भासिएकाले काम नलाग्ने अवस्थामा पुगेको विवरण प्राप्त भएको ढकालले जानकारी दिए । उनले भने ‘यी तीन विद्यालयमा बढी क्षति पुगेको देखिन्छ । अरु विद्यालयमा यत्ति क्षति पुर्याएको छैन होला सम्भवत ।’

पहिरोले क्षति पुर्याएको हुम्लाको ताँजाकोट नगरपालिकास्थित जनप्रकाश माविको चारकोठे भवन ।

सल्यानको शारदा नगरपालिकामा १५ वटा विद्यालयमा  क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाधर ववालले जानकारी दिए ।

क्षतिको पाप्त विवरणमध्ये केहीको गेट भत्किएको, पर्खाल भत्किएको, भवन चर्किएको, माथिबाट पहिरोले पुरेको लगायतको विवरण प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत ववालले बताए ।

प्राप्त विवरण पनि विस्तृत नभएको र विस्तृत विवरणको माग गरिएको पालिकाले जनाएको छ । पालिकाका अनुसार सरस्वती आधारभूत विद्यालय रानीकोटको दुई कोठे भवनको भित्ता भत्किएर पढाउन नमिल्ने भएको, जनकल्याण प्रावि तल्लोमार्केको दुई कोठे भवनको छाना भत्किएर पढाउन नमिल्ने र साझा आवि खैराङको छत चर्किनुको साथै कम्पाउन्ड वाल भत्किएकोले पढाउनको लागि जोखिम रहेको छ ।

यस्तै अर्को स्वस्ती आधारभूत विद्यालय हात्तीढुंगाको भवन पुर्ने जोखिम (फेरि पानी पर्यो भने माथिदेखि पहिरो खस्ने सम्भावना) देखिएको छ । अरु विद्यालयहरुको भने सामान्य विवरण मात्रै प्राप्त भएकाले विस्तृत विवरण माग गरिएको प्रमुख प्रशासकीय अधिकृत ववालले जानकारी दिए ।

क्षतिको विवरण कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमा पठाएको उनले बताए । उनले भने ‘हामी विस्तृत विवरण संकलनकै क्रममा छौं । अहिलेसम्म आएको विवरण हामीले प्रदेशमा पठाइसकेका छौं । पठनपाठन प्रभाव नपर्ने गरी काम गरौं भनेर आए जत्ति पठाएका हौं ।’

सल्याणकै त्रिवेणी गाउँपालिकाको सिद्धदेवी आधारभूत विद्यालयको दुई कोठे भवन भत्किएको जानकारी प्राप्त भएको पालिका शिक्षा शाखा प्रमुख गणेश आचार्यले बताए । उनले भने ‘तुलनात्मक रुपमा हाम्रोमा क्षति कम भएको छ । सिद्धदेवीको स्थलगत अनुगमन गरेर व्यवस्थापनबारे निर्णय गर्छौं ।’

दैलेखको नारायणी नगरपालिकाको ७ वटा विद्यालयमा क्षति पुगेको विवरण प्राप्त भएको शिक्षा अधिकृत पूर्ण प्रसाद उपाध्यायले बताए ।

उनका अनुसार नगरपालिकाको बसन्त मावि दुई कोठे भवन र घेराबार पर्खाल र देउती माविको दुई कोठे भवन भत्किएको छ । अरु विद्यालयहरुको भने पर्खालमा क्षति पुगेको छ । अरु विवरण आउन बाँकी रहेको शिक्षा अधिकृत उपाध्यायले बताए । उनले भने ‘अरु विवरण आउँदैछ । क्षतिको अवस्था र विवरण आउन अझै केही दिन लाग्छ ।’

कर्णाली प्रदेशमा धेरै विद्यालयमा क्षति पुगेको अनुमान भएपनि विवरण आइनसकेको प्रदेशको शिक्षा विकास निर्देशनालयकी निमित्त निर्देशक दीपा हमालले बताइन् ।

प्रारम्भिक विवरण तयार गरिरहेको भएपनि कतिपय स्थानमा बिजुली, टेलिफोन नेटवर्क नहुँदा सम्पर्क गर्न समस्या भएकाले पनि विवरण आउन अझै समय लाग्ने बताइन् ।

‘धेरै विद्यालयहरुमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ । बिजुली, टेलिफोन नेटवर्क समस्याले गर्दा पालिकालाई तथ्यांक संकलनमा समस्या छ, अझै केही दिन लाग्ने जानकारी आएको छ’ उनले भनिन् ।