साना किसान कृषि सहकारी शंकरपुरको अध्यक्षमा श्रेष्ठ चुुनिए

बागमती । सर्लाहीको बागमती नगरपालिका–१०, शंकरपुर सोल्टीमा रहेको साना किसान कृषि सहकारी संस्थाको आज १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष कमल कुमारीको अध्यक्षता तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकको प्रमुख आतिथ्यतामा संस्थाको सोल्टीस्थित गाजली चोकमा रहेको निर्माणाधीन दाना उद्योगको जग्गामा साधारण सभा सम्पन्न भएको हो ।

सभामा बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवाल, बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तान, समाजसेवी जवाहारलाल कुशवाहा लगायतको आतिथ्यता रहेको थियो ।

साधारण सभामा संस्थाले गएको आर्थिक वर्ष २०७८÷०७९ मा ८० करोड १३ हजार ९२० रुपैयाँ ३७ पैसा कूल कारोवार गरी १ करोड ४९ लाख २५ हजार ६१८ रुपैयाँ ६० पैसा खूद मुनाफा आर्जन गरेको जानकारी गराइएको छ । यस्तै, साधारण सभाको बन्द सत्रले भूपेन्द्रमान श्रेष्ठ अध्यक्ष रहने गरी १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

संचालक समितिको उपाध्यक्षमा मोहित महासेठ, सदस्यहरुमा जंगबहादुर महतो, भुवनप्रसाद निरौला, विजय राय, किशुन महतो, राजकुमार महतो, गायत्री खत्री, कौशल कुमार सिंह, मोहम्मद मुर्तुजा रहनुभएको छ ।

यस्तै, सदस्यहरुमा इन्द्रप्रसाद पोखरेल, सविता गौतम कार्की, भक्तबहादुर भुजेल, शिवमाया खरेल र दिलमाया योन्जन रहनुभएको संस्थाले जनाएको छ । साधारण सभाका अवसरमा संस्थाले ज्येष्ठ शेयर सदस्य, असल बचतकर्ता, नियमित साँवा ब्याज बुझाउने ऋणलगायतलाई सम्मान गरेको संस्थाका प्रवन्धक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।