सर्लाहीमा सहकारी प्रमुखमाथि गोली प्रहार गरेको आरोपमा ४ जना पक्राउ

बागमती । सर्लाहीको बागमती नगरपालिका–१ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र प्रमुखमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनजना भारतीय छन् भने एक जना नेपाली रहेका छन् ।

रकम लुटपाट गर्ने उद्देश्यका साथ सहकारी प्रमुखमाथि गोली प्रहार गरी भारतीय नम्बरको मोटरसाइकलमा भागेका तीन जनालाई प्रहरीले नेपाल–भारत सीमाबाट बुधबार राति नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यका १९ वर्षीय आलोक सिंह, १९ वर्षीय सौरभकुमार यादव र १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् । घटनाको मुख्य योजनाकार एवं सहयोगी सर्लाहीको धनकौल गाउँपालिका–१ का ३२ वर्षीय डिजे भन्ने धीरेन्द्र सहनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान घटना पश्चात प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा खटिएको टोलीले बलरा नगरपालिका ७ गडहियास्थित एक घरमा लुकीछिपी बसेको अवस्थामा चारैजनालाई नियन्त्रणमा लिएको हो । प्रहरी टोली घरमा पुग्दा अभियुक्तहरू हामफाल्न खोजेका थिए । यसैक्रममा उनीहरूमाथि प्रहरीले एक राउण्ड गोली प्रहार गरेको थियो । गोली सहनीको खुट्टामा लागेको छ । उनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

सहकारीको सेवाकेन्द्रमा बुधबार बिहान साढे १० बजे रकम लुट्ने उद्देश्यका साथ गोली प्रहार भएको थियो । भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराले सेवा केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२ जुटपानीका ३० वर्षीय साजन कार्कीलाई रकम राखिएको झोला दिन धाकधम्की दिएका थिए । त्यसक्रममा कार्कीले प्रतिकार गरेका थिए । कार्कीले प्रतिकार गरेपछि लुटेराले उनीमाथि गोली प्रहार गरेको थियो ।

गोली कार्कीको दाहिने पाखुरा, दाहिने कोखा, बायाँ कोखा र दाहिने तिघ्रामा लागेको प्रहरीले जनाएको छ । गोली लागेर गम्भीर घाइते भएका कार्कीको काठमाडौंमा उपचार चलिरहेको छ । उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।