लेबनान पाँचाैँ पटक नयाँ राष्ट्रपति चयन गर्न असफल

 एजेन्सी | लेबनानको संसद्ले आज बिहीवार पनि नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ । राजनीतिक दलहरूले रिक्त राष्ट्रपति पदका लागि आवश्यक मत नपुग्दा नयाँ राष्ट्रपतिको चुनाव अन्योलमा परेको त्यहाँकाे राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ ।

कुल एक सय २८ मध्ये एक सय आठ सांसदको सहभागिता रहेको मतदान सत्रमा संसद् सदस्य मिसेल मोवाडलाई ४४ मत, प्राध्यापक इसाम खलिफेलाई ६ मत, पूर्व–गृहमन्त्रीलाई एक मत परेको थियो ।
यसैगरी जियाद बराउड र लेबनानको उच्च परिषदको पूर्व–महासचिव जियाद हायेकका लागि एक मत परेको थियो भने ४७ भोट खाली  थियो। 

गएकाे अक्टोबर ३१ मा समाप्त भएको पूर्व–राष्ट्रपति मिशेल आऊनको उत्तराधिकारी चयन गर्न संसद् असफल भएको यो पाँचौँ पटक हो । योसँगै देश थप राजनीतिक अनिश्चिततामा पुगेको छ । 
लेबनानको राष्ट्रपति पद यसअघि पनि पटक-पटक खाली भइसकेको छ ।

लेबनानको सदनका सभामुख नाबिह बेरीले नयाँ राष्ट्रपतिको चुनावका लागि नोभेम्बर १७ मा अर्को संसदीय अधिवेशन बोलाउन आह्वान गर्नुभएकाे छ ।