
सुनसरी | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टालटुल गरी दल बटुलेर बनाइएको गटबन्धन देशका लागि घातक भएको बताउनुभएको छ ।
सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी सभालाई सम्बोधन गर्दै हिजो बुधवार अध्यक्ष ओलीले तत्कालीन गठबन्धनले देशलाई विकास र समृद्ध बनाउन नसक्ने दाबी गर्नुभयो । उहाँले तत्कालीन गठबन्धन देश बनाउनका लागि नभइ सरकार कब्जा गर्ने र देश लुटेर खाने गठबन्धन भएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘टुटेफुटेका हाँडीजस्तै भेला पारेर बनेको गठबन्धनले देश विकास गर्न सक्दैन । यो गठबन्धन सरकार कब्जा गरेर लुटेर खानका लागि हो । त्यस्तो गठबन्धनले अनि देश बनाउँछ । मङ्सिर ४ मा जनताले देखाइ दिनेछन् । बिना ढेउवा के भन्नेहरूलाई ।’
अध्यक्ष ओलीले देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आउँदो चुनावमा एमालेलाई जिताउन आवश्यक भएको जिकिर गर्नुभयो । उहाँले गठबन्धन १५÷२० वर्षसम्म रहन्छ भनेर दाबी गरिए पनि गठबन्धन १५ वर्ष रहन्छ भन्नेलाई चुनावमा मतदाताले जवाफ दिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घरमा आगो लगाएर नेपाली कांग्रेसको पालीमा बास बस्न पुगेको टिप्पणी गर्नुभयो ।