जति नै ठूलो गठबन्धन बनाएर आए पनि एमालेसँग कसैको तागत लाग्दैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गते हुने चुनाव राष्ट्रियता चाहने कि देशघाती, विकास चाहने कि विनाश अनि स्थिरता कि अस्थिरता चाहनेका बीचमा हुने जिकिर गर्नुभएकाे छ । यसअघिका चुनावभन्दा आउँदाे चुनाव निकै महत्त्वपूर्ण भएकाे भन्दै मतदाताले एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्ने उहाँकाे भनाइ थियाे । 

नेकपा एमाले १ नम्बर क्षेत्रीय कमिटीले  हिजो बिहीवार झापाको मेचीनगर नगरपालिका ७ इँटाभट्टामा आयोजना गरेको चुनावी सभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले यस क्षेत्रका मतदाताले एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्ने दाबी गर्नुभयाे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठबन्धनमा जान नचाहेको र एमालेसँग मिलेर चुनावमा तालमेल गरेका कारण राप्रपाका उम्मेदवारलाई पनि जिताउन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले मङ्सिर ४ गतेकाे चुनावले देश र नागरिककाे भाग्य र भविष्यको फैसला गर्ने भन्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपना पूरा गर्न पनि देशका सबै क्षेत्रबाट एमालेले जित्नुपर्ने जिकिर गर्नुभयाे ।

उहाँले नागरिककाे मन र संसदबाट एमालेलाई ढाल्न नसकेर अन्य दलहरू गठबन्धन बनाएर चुनावमा आएको भन्दै गठबन्धन नाममात्रैको भएको टिप्पणी गर्नुभयाे । भन्नलाई पाँच दलीय गठबन्धन भने पनि खासमा कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको मितेरी साइनोमात्र भएको ओलीको भनाइ थियो । 

देउवा र प्रचण्डलाई एकै रङकाे चराको संज्ञा दिँदै अध्यक्ष ओलीले गठबन्धनलाई अझ बलियो बनाएर चुनावी प्रतिस्पर्धामा आउन चेतावनी दिँदै जति नै ठूलो गठबन्धन बनाएर आए पनि एमालेसँग कसैको तागत नलाग्ने दाबी गर्नुभयो । 

अध्यक्ष ओलीले रैथाने भएकै कारण चुनाव जित्ने कल्पना नगर्न भन्दै अग्निप्रसाद खरेल काम गर्न सक्ने, केन्द्रमा नीति निर्माण गर्न सक्ने तथा त्यसको कार्यान्वयन गर्न र सरकारमा मन्त्रीसमेत बन्न योग्य भन्दै खरेललाई एमालेले उम्मेदवार बनाएको उहाँले बताउनुभयाे । छाप्रो हालेकै भरमा चुनाव जित्ने भए अग्नि खरेलको छाप्रो क्षेत्र नम्बर १ मा एमालेले हालिदिने उहाँको भनाइ थियो । 

कार्यक्रममा बाेल्दै एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले नेपाली कांग्रेसले सत्तामा हुँदा कबाडीकाे माेलमा देशका ठूला कलकारखाना बेचेकाे आराेप लगाउँदै त्यसकाे हिसाबकिताब खोज्ने बेला आएको बताउनुभयाे । कांग्रेसका कारण देशका ठूला कलकारखाना बेचिएको र युवा विदेशिन बाध्य भएको उहाँले दाबी गर्नुभयो ।