चितवन : आजदेखि ` गीतानगर जेसीजको जेसीज सप्ताह – २०२२ ´ कार्यक्रम शुरु

निराज रानाभाट , भरतपुर , चितवन : गीतानगर जेसीजको जेसीज सप्ताह २०२२ कार्यक्रम मंसिर १३ गते , मंगलबार ( आज) देखि शुरु भएको छ ।

सप्ताहको पहिलो कार्यक्रम अन्तर्गत मंगलबार ( आज ) चितवन जिल्लाको भरतपुर महानगरपालिका – ०६ , देवनगरमा अवस्थित देवज्योति आधारभूत विद्यालय देवनगरका करिब ७० जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ ।

गीतानगर जेसीज वर्ष २०२२ का कोषाध्यक्ष जेसी युवराज अधिकारीको मुल संयोजकत्वमा भएको उक्त कार्यक्रममा सोही विद्यालयका प्रधानाध्यापक गोबिन्द न्यौपाने प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा गीतानगर जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी अर्जुन पौडेल , प्रस्तावित देवघाट जेसीजका अध्यक्ष जेसी विकास सापकोटा लगायतको समेत उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले गीतानगर जेसीजले हरेक वर्ष आफ्नो विद्यालयलाई सम्झेर आइ विद्यार्थीहरुको मनोबल वृद्धि हुने कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको जानकारी गराए ।

गीतानगर जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी अनुप कोईरालाको सभापतित्वमा सप्पन्न कार्यक्रमलाई गीतानगर जेसीज वर्ष २०२२ का महा – सचिव जेसी नविन आचार्यले सहजीकरण गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष कोइरालाले आफूले पढेर शिक्षा आर्जन गरेको विद्यालयमा आएर यति राम्रो कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफ्नो तर्फबाट सदैव विद्यालयलाई सकेको सहयोग गर्न आफू तयार रहेको बताए ।

जेसीज सप्ताहको दोस्रो कार्यक्रम अन्तर्गत मंसिर १४ गते , बुधबार सिद्धी विनायक गणेश मन्दिर मुलनहर गेट देवनगरमा रहेको धार्मिक स्थल सरसफाइ कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।