प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणले रोक्यो मोबाइल फोन दर्ताको नयाँ नियम

काठमाडौं | विदेशबाट नेपालीहरुले लिएर आउने मोबाइल फोनमा कडाइ गर्ने निर्णबाट नेपाल दूरसञ्चार प्राधिकरण पछि हटेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत रुपमा नेपालीहरुले विदेशबाट लिएर आउने मोबाइल फोनमा गरिएको कडा तत्काल लागु नगर्न बिहीबार निर्देशन दिएका थिए।उक्त निर्देशनपछि प्राधिकरणले बिहीबार एक सूचना निकालेर उक्त निर्णय कार्यान्वयन नगर्ने जनाएको हो। 

‘मोबाइल सेटको गैर कानुनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका र हराएका मोबाइल सेटको ट्र्याकिङ/ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमस) मा विदेशबाट आउने नेपालीहरुले निजि प्रयोगक लागि ल्याएका मोवाइल सेटहरुको आईएमईआई रजिष्ट्रेसन सम्बन्धमा सेवााग्राहीको पृष्ठपोषण र दर्ता प्रक्रियालाई सरलीकरण गर्न निर्देशन भएअनुसार अर्को सूचना प्रकाशन नहुन्जेलसम्म पूर्वत रुपमा हुँदै गरेको आईएमइआई प्रक्रिया अनुसार नै हुने व्यहोरा जानकारी गराइन्छ’, प्राधिकरणले भनेको छ। 

आजदेखि नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता नभएका मोबाइल सेट नचल्ने नियम सरकारले ल्याएको थियो। त्यस्ता मोबाइल फोन वैदेशिक रोजगारीबाट आउने युवाले ल्याउने गरेका थिए। 

विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएपछि सरकार पछि हट्न बाध्य भएको हो।