नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडकाे ` १५ औं वार्षिक साधारण सभा सम्पन्न´

आर्थिक समृद्धिका लागि नेपाल कृषि सहकारीको भूमिका कस्तो छ ? साधारण सभामा बक्ताहरुले यस्तो भने

निराज रानाभाट , काठमाडौं : नेपाल कृषि सहकारी केन्द्रीय संघमा अहिले देशभरका ११ सय ३९ साना किसान कृषि सहकारी संस्था लिमिटेड आवद्ध रहेका छन् । संघको सञ्जाल ७७ वटै जिल्लामा विस्तार भएको छ , भने १२ लाख परिवारका ६० लाख परिवार सदस्यहरु आवद्ध रहेका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको पुस २१ गते , बिहीबार , राजधानी काठमाडौंकाे स्काई दरवार बैङ्केट्स प्रा. लि. ( सिंहदरबार नजिकै ) मा ` १५ औं वार्षिक साधारण सभा सम्पन्न ´ भएको छ ।

ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारसंगै आर्थिक, सामाजिक सचेतनाकोस्तर वृद्धिमा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले काम गर्दछ । यसैगरी , नेपाल सरकार , सहयोगी निकाय र सरोकारवाला निकायहरुसंग सहकार्य गर्दै कृषि र पशुजन्य उत्पादन र उत्पादकत्व बढाउन नेपाल कृषि सहकारी केन्द्रीय संघले नेतृत्वदायी भूमिका खेलीरहेको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले अहिलेको आर्थिक अवस्था सुधारका लागि कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको ` १५ औं वार्षिक साधारण सभा ´ मा बोल्दै अध्यक्ष तिमल्सिनाले कृषि र पशुपालनलाई आर्थिक रुपान्तरणसंग जोड्न सके मात्र देशको वर्तमान आर्थिक अवस्था सुधार गर्न सकिने बताए ।

उनले अर्थतन्त्र सुधारका लागि सरकार , सहकारी र निजी क्षेत्रलाई तीनखम्बे नीतिका रुपमा स्वीकार गरिसकेकोले अब आर्थिक समृद्धि मार्फत ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधार सहित समग्र देशको आर्थिक अवस्था सुधारमा कृषिलाई उच्च महत्वकासाथ सरकारले अगाडि बढाएको बताए । नेपाल कृषि प्रदान देश भएपनि कृषिको आयत प्रतिस्थापन हुन नसक्नुको कारण पहिल्याउँदै सुधारका कामहरुलाई सकारले पनि उच्च महत्वका साथ अगाडि बढाउने बताए ।

कार्यक्रममा सहकारी महासंघका पूर्व अध्यक्ष एवम् पूर्व मन्त्री केशव बढालले ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि खेलेको भूमिका प्रसंशा गर्न लायक रहेको बताए । उनले अहिले पनि कृषि र पशुपालनमा युवाहरुलाई आकर्षित गर्न नसकिरहेको अवस्थालाई ध्यानमा राखेर नेपाल कृषि सहकारी केन्द्रीय संघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । नेपालमा सहकारी आन्दोलनलाई उत्पादन र उत्पादकत्व बढाउने कार्यमा साना किसानहरुले महत्वपूर्ण योगदान दिन सकेको भन्दै बडालले सरकारले किसानका लागि आवश्यक पर्ने सबै ऐन नियम र कानुनहरु निर्माण गरिदिनुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी अभियानलाई माथी उठाउन नेपाल कृषि सहकारी केन्द्रीय संघले खेलेको भूमिका प्रति आभार प्रकट गरे ।

उनले दक्षिण एसियाकै उदाहरणीय संस्थाका रुपमा केन्द्रीय संघले काम गरेको भन्दै राउटे किसान देखि सिमान्तकृत, दलित, जनजाती, पिछडिएको वर्गलाई एकीकृत गर्न सफल भएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा सहकारी विभागका रजिष्टार रुद्र पण्डितले नेपलामा विभिन्न किसिमका सहकारी रहे पनि खास सहकारी नेपाल कृषि सहकारी केन्द्रीय संघ रहेको बताए । उनले किसानहरुको हितमा काम गर्ने संस्थाका रुपमा नेपाल कृषि सहकारी केन्द्रीय संघ लाई सहकारी विभागबाट सकारात्मक रुपान्तरणका लागि सदैव साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । सहकारी मार्फत ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारमा उदाहरणीय कार्य गर्न सफल नेपाल कृषि सहकारी केन्द्रीय संघले अब कृषि र पशुजन्य उत्पादनका आफ्नै साना, लघु र ठूला उद्योग सञ्चालनका लागि काम गर्नुपर्ने आवश्यकता औल्याए । रजिष्टार रुद्र पण्डितले अहिले सहकारीले आफ्नै उद्योग सञ्चालन गर्न केही कठिनाईहरु रहेको भन्दै आगामी दिनमा यि समस्याहरु समाधानका लागि आफू तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा साना किसान कृषि सहकारी संस्था मार्फत उत्कृष्ट कार्य गरेका शिर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेड , डडेलधुराका लालसिंह राउटेलाई उष्कृष्ट किसानका रुपमा पुरस्कृत गरिएको छ । यसैगरी , धादिङका चेत बहादुर गाईने , धनुषाकी बिना देवी महरा चमार , भुटी देवी मुसहर्नी ( धनुषा ) , ललिता देवी दास तत्मा ( धनुषा ) , झापाकी फुलमुनी हेमरम सतार , इलामकी सङमीत लाप्चा र चितवनको शक्तिखोरकी टिकामाया प्रजालाई उत्कृष्ट किसान पुरस्कारबाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट युवा उद्यमी किसानबाट सुर्खेतकी देवीसरा घर्ती , नुवाकोटका सुन्दर नेपाल र कास्कीका भोज बहादुर तामाङलाई पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी , उत्कृष्ट सञ्चालकको पुरस्कार उदयरपुरको महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड सुन्दरपुरकी निवर्तमान अध्यक्ष किरण कुमारी चौधरीलाई प्रदान गरिएको थियो । यसैगरी , देशभर रहेका ११ सय ३९ संस्था मध्ये साना किसान कृषि सहकारी संस्था लिमिटेड पृथ्वीनगर झापा र वसन्त साना किासन कृषि सहकारी संस्था लि. बदालपुर बर्दियालाई उत्कृष्ट साना किसान कृषि सहकारी संस्थाका रुपमा पुरस्कृत गरिएको थियो ।

समुदायमा आधारीत साना किसान कृषि सहकारी संस्था मार्फत साना किसान र गरिब किसानहरुको आर्थिक अवस्था सुधारका लागि काम गर्दै आएका संस्थामार्फत सेवा प्रवाहलाई उत्कृष्ट बनाउन सफल उत्कृष्ट प्रवन्धकका रुपमा समालवुङ साना किसान कृषि सहकारी संस्था लिमिटेड इलामकी शान्ता कार्की खड्का , साना किसान कृषि सहकारी संस्था लिमिटेड बज्रवारहीका ध्रव प्रसाद विडारी, साना किसान कृषि सहकारी संस्था लिमिटेड विरेन्द्रनगर चितवनका पुष्पराज राना र साना किसान कृषि सहकारी संस्था लिमिटेड बेदकोट दैजीका कर्ण बहादुर धामीलाई पुरस्कृत गरिएको थियो । यसैगरी , नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको तालिम तथा अनुसन्धान केन्द्र चितवनमा कार्यरत कर्मचारी रामहरी भट्टराईलाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरिएको थियो ।