हतियारसहित मधेश प्रदेशबाट ५७ जना पक्राउ

सर्लाही | मधेश प्रदेशको विभिन्न जिल्लाबाट प्रहरीले दुई वर्षको अवधिमा करिब पाँच दर्जन व्यक्तिलाई हतियारसहित नियन्त्रणमा लिएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०७९।०८० को पुस महिनासम्ममा ८ वटा हतियार नियन्त्रणमा लिएको छ । भने,गत आर्थिक वर्ष २०७८।०७९मा ४९ वटा हतियारसहित व्यक्तिलाई समेत प्रकाउ गरेको थियो । नियन्त्रणमा लिइएको ५७ वटा हतियारमध्ये ४४ वटा कटुवा,पेस्तल लगायतका साना हतियार रहेको छ भने १३ वटा ठूलो हतियार नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुमन तिमल्सिनाले बताए ।

सूरक्षाको दृष्टिकोणले प्रदेशको अत्ति संवेदनशील मानिएको जिल्ला बाराबाट सबभन्दा बढी सानो ठूलो गरी १६ वटा हतियार प्रहरीले नियन्त्रणमा लिएको छ भने सोही अवधिमा सबभन्दा कम महोत्तरी र सप्तरी जिल्लाबाट दुई÷दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको प्रवक्ता तिमल्सिनाले जानकारी दिए ।

त्यस्तै धनुषाबाट १०,सर्लाहीबाट ८,रौतहटबाट ८ तथा पर्साबाट ८ जनालाई हतियार सहित नियन्त्रणमा लिइएको जनाइएको छ । हतियारसहित पक्राउपर्नेहरुमाथि हातहतियार खरखजाना अन्र्तगत मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको छ ।

भारतीय सीमानाकाबाट हुने अवैध हतियारको तस्करीले गर्दा मधेश प्रदेशमा हत्या हिंसाको घटनामा समेत वृद्धि भएर गएको छ । सामान्य विवाद,लेनदेन,जग्गा जमिन विवादमा समेत अवैध हतियारको प्रयोग र ज्यानै लिनेसम्मका घटना हुने गरेको छ । प्रदेशका आठवटै जिल्ला भारतसंगको खुला सीमासंग जोडिएकाले यी क्षेत्रमा अवैध हतियार सहजै ओसार–पोसार हुने गरेको छ, जुन विषय प्रहरीका लागि चुनौती बनेको छ ।

भारतमा सहज रुपमा र कम रकममै यस्ता हतियार उपलब्ध हुनेभएकाले आपराधिक गतिविधिमा संलग्न व्यक्तिले आफै अथवा दलाल मार्फत हतियार मगाउने गरेको प्रहरी अधिकृतहरु बताउँछन् ।