सर्लाहीको गोडैताका एक युवकको भारतमा कुटपीट गरी हत्या

सर्लाही | युवकको भारतमा हत्या भएको छ। मजदुरीका लागि भारतको पञ्जाब पुगेका गोडैता नगरपालिका–१२ का ४० वर्षीय रोजा बैठाको चार दिनअघि हत्या भएको हो।

भारतीय युवकले कुटपित गर्दा उनको मृत्यु भएको आफन्तले बताएका छन्। बैठा विगत चार महिनादेखि गाउँकै साथीहरुसँग मजदुरी गरेर पञ्जाबमा बस्दै आएका थिए।  आफन्तको भनाई उद्धृत गर्दै सर्लाही प्रहरीले जनाएअनुसार यहि फागुन २४ गते साँझ सामान्य विवादमा बैठामाथि ३५ वर्षीय भारतीय युवक महेश माझीले चिर्पट प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए।

स्थानीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका उनको फागुन २५ गते बिहान मृत्यु भएको हो।मृतक बैठाको शव शनिबार आफन्तले पञ्जाबबाट गोडैतास्थित घर ल्याइपुर्याएका छन्। घटनाबारे जानकारी लिन मृतकको घरमा पुगेका प्रहरीले शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा लगेका छन्।

पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै युवकको मृत्युको कारण खुल्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी कैलाश राईले जानकारी दिए। घटना भारतमा भएकाले यसको अनुसन्धान भारतीय प्रहरीले नै गर्छ,’ डीएसपी राईले भने, ‘मृतकका आफन्तले भारतमा कुनैपनि कानुनी प्रक्रिया पुरा नगरी शव ल्याएका रहेछन्। हामीले भारतीय प्रहरीसँग समन्वय गरी दोषीलाई कारबाहीको लागि पहल सुरु गरेका छौँ।’