
निराज रानाभाट, चितवन । चितवनमा हुन लागेको ‘ एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड – २०८० ’ को लागि कृषि विकास बैंक लिमिटेड र लक्की मिडिया हाउस चितवन बीच सम्झौता भएको छ । कार्यक्रमको बैकिङ्ग पार्टनरका लागि २ पक्ष बीच सम्झौता भएको हो । कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालयका निर्देशक खुर्सेद अहमद, वरिष्ठ शाखा प्रमुख नुर प्रसाद गौतम, नारायणगढ शाखाका प्रबन्धक दिपक बराकोटी र लक्की मिडिया हाउसका महा – प्रवन्धक हरि कार्की ‘ लक्की ’ बीच सम्झौता गरिएको छ ।
चितवनमा हुन लागेको राष्ट्रिय स्तरको कार्यक्रमलाई सफल बनाउनका लागि बैंकको तर्फबाट सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालयका निर्देशक खुर्सेद अहमदले बताए । नेपालमा २ सय ८५ भन्दा बढी कार्यालय र शाखाहरुले सेवा दिदै आएको कृषि विकास बैंकले नेपाली कृषि क्षेत्रको उन्नतीका लागि किसानहरुको सारथीको रुपमा काम गर्दै आएको छ ।
सम्पूर्ण बैकिङ्ग सुबिधा सहितको ‘ तपाई हाम्रो घर आँगनको बैंक ’ कृषि विकास बैंकले कृषि विकासमा बढीभन्दा बढी गतिशीलता ल्याई सर्वसाधारण जनताको आर्थिक हित र सुविधा कायम गर्ने र कृषि क्षेत्रमा सुलभ र सरल पद्धति अपनाई पूँजी तथा ऋण उपलब्ध गराउँदै आएको छ । चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्न आयोजना गरिएको अवार्ड कार्यक्रमका लागि कृषि विकास बैंकको तर्फबाट बैकिङ्ग पार्टनको रुपमा गरिएको सहयोग प्रति लक्की मिडिया हाउसका महा – प्रबन्धक कार्कीले धन्यवाद ज्ञापन गरेका छन ।
लक्की मिडिया हाउसले रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो, च्यारीटी शो, एकल साँझ, विभिन्न सांगितिक कार्यक्रमहरु, सम्मान कार्यक्रम गर्दै सिने क्षेत्रको प्रवद्र्धनका लागि काम गर्दै आइरहेको छ । लक्की मिडिया हाउसले चितवनमा गर्न लागेको अवार्ड वितरण कार्यक्रमको तयारीलाई तीव्र बनाएको छ ।